निर्मला हत्या प्रकरण : ६ जना प्रहरीलाई धरौटीमा छाड्न अदालतले दियो आदेश

news-details

जिल्ला अदालत कञ्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्ने आदेश गरेको छ । डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख धरौटी माग्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

उनीहरूसँग यातनामा ५/५ लाख र सार्वजनिक न्यायमा ४/४ लाख धरौटी माग्ने आदेश अदालतले गरेको हो । इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गर्ने आदेश गरेको छ । उनीहरुले धरौती बुझाएमा रिहा हुनेछन् भने नबुझाएमा थुनामा रहनेछन् ।

एसपी डिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने अदालतमा उपस्थित भएका छैनन् । उनीहरुलाई २१ दिनभित्र अदालत उपस्थित हुन म्याद थप गरिएको छ भने प्रहरीले फरारको सूचीमा पनि राखेको छ ।

निर्मला हत्या प्रकरणमा अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै २ वटा छुट्टाछुट्टै मुद्दा गत पुस ३ गते दर्ता भएको थियो । निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा २ वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो ।

गत साउन १० गते साथीको घरमा जान्छु भनेर हिँडेकी निर्मला भोलिपल्ट ११ गते नजिकैको उखुबारीमा बलात्कार गरि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । घटना भएको ८ महिना हुँदा पनि हत्यारा र बलात्कारी पक्राउ पर्न सकेको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *