१०९ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइयो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
यस वर्षको महिला दिवसको नारा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ दिइएको छ ।
दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरिँदै छ ।
राष्ट्रपतिद्वारा शुभकामना
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नारी दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
नारीदिवसको पूर्वसन्ध्यामा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु ।’
यस वर्षको अन्तर्राष्ट्रिय नारीदिवसको राष्ट्रिय नारा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ रहेको छ । जसले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अतिआवश्यक छ भन्ने सन्देश दिइरहेको राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।
‘संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालार्इ प्राथमिकताका साथ उठाएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले पनि महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न नीतिगत, संस्थागत र कार्यक्रमहरुको समेत थालनी गरिसकेको अवस्था छ । यी सबै प्रावधान र प्रयासहरुलार्इ सफल बनाउन सकेमा सबै महिलाहरुका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ ।’
उहाँले नारीदिवसको अवसरमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘यो दिवसले हामी सबैलाई महिलाको हक, अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण सम्वेदनशील भईरहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’








