नेपालको संघीय संरचना अनुसारको प्रशासनिक नयाँ नक्सा लोकार्पण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेकी हुन ।

संघीय संरचना अनुसारको भनिए पनि सात मध्ये सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मात्रै नाम नक्सामा छ । बाँकी चार प्रदेशको नम्बर मात्रै छ । प्रदेशहरूको नामाकरणमा ढिलाई हुँदा नक्सामा सबै प्रदेशको नाम राख्न नसकिएको मन्त्री अर्यालले बताइन् ।

मन्त्री अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक भएकाले अब त्यसअनुसार प्रशासनिक, जिल्ला र स्थानीय तहहरूको नक्सा बन्ने जानकार दिइन् ।
सरकारले प्रशासनिक नक्सा तेस्रो पटक सार्वजनिक गरेको हो । यसअघि २०४९ र २०३२ सालमा पनि आधिकारिक रुपमा प्रशासनिक नक्सा सार्वजनिक गरिएको थियो ।