जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डको अभियोगमा संघीय सांसद रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
बुधबार न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरी लगायत ११ जनालाई दोषी ठहर गदैँ यस्तो फैसला गरेको हो । जिल्ला अदालतको फैसला अनुसार जन्मकैद हुनेमा रेशमलाल चौधरी, हरिनारायाण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह सिताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरी रहेका छन् । यस्तै जिल्ला अदालत कैलालीले श्रवण चौधरीको हकमा भने नाबालक भएकाले सजाय आधा गर्दै १० वर्षमात्र कैद हुने फैसला गरेको छ ।
यसैगरी अदालतले सो घटनामा दोषी भएको आरोपमा जेलमा रहेका २७ जनामध्ये ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्षको कैद र तीनजनालाई पूर्ण सफाइ दिने फैसला गरेको हो ।
घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।
तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
मधेसी आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।
चौधरीको सांसद पद खारेज हुने
टीकापुर घट्नामा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद गुम्ने भएको हो ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने जानकारी दिए ।









