संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र हेलिकप्टरमा सवार ७ जनाकै मृत्यु भएको पुष्टि भएको छ । हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा बुधबार दिउँसोबाट सम्पर्कविहीन रहेको एयर डाइनेस्टीको उक्त हेलिकोप्टर दुर्घटना भएको यसअघि नै विमानस्थल कार्यालयले पुष्टि गरेको थियो ।

गाउँलेले ताप्लेजुङको दारेभीरमा ठूलो आगो लागेको जानकारी दिएपछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित उद्धार र खोजिका लागि खटिएको नेपाल प्रहरी र सेनाको टोलीले दुर्घटनास्थलतर्फ लागेको थियो ।

भर्खरै घटनास्थल पुगेको प्रहरीले चिन्नै नसक्ने अवस्थामा शवहरु भेटाएको जानकारी दिएको छ । केहि शव पुरै जलेको र केहि आधा जलेको अवस्थामा भेटिएको जनाइएको छ । शवलाई उद्धार गरी काठमाडौ ल्याउन अहिले घटनास्थलमा हेलिकप्टरहरु पठाइसकिएको छ ।

मन्त्री अधिकारी तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए । त्यसपछि ताप्लेजुङस्थित पाथिभरा मन्दिर दर्शन गर्न उनीहरू त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए । हेलिकोप्टर चालक प्रभाकर केसी, विरेन्द्र प्रसाद श्रेष्ठ र अर्जुन घिमिरे सवार रहेका थिए ।

घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका थिए । बैठक अहिले जारी छ ।