मलेसिया संस्थागत खोल्नुको सट्टा व्यक्तिगत खोलेर फेरि चुके मन्त्री विष्ट
व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिएर २० कामदार मलेसिया उडे
- फणिन्द्र दाहाल
- माघ ७, २०७५
- 0

मलेसिया रोजगारी बन्द भएपछि सबैभन्दा धेरै फोन वा प्रश्न सायद मन्त्री गोकर्ण विष्टलाई नै आउने गरेको होला –मलेसिया कहिले खुल्छ ? यो प्रश्नको प्रेसर थाम्नलाई मन्त्री विष्टलाई जति धौधौ परिरहेको छ त्यति नै मेनपावर व्यवसायीलाई पनि ।
तर, अचानक कलिङ भिसा आएकाहरुको व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति खुला गरेर २० कामदार मलेसिया उडेपछि अहिले यस क्षेत्रमा अर्को तरङ्ग उत्पन्न भएको छ ।
मन्त्री विष्टले कारवाही गरेका संस्थाहरुबाट प्रकृया पुरा गरी कामदार मलेसिया उडिसकेका छन् त्यो पनि व्यक्तिगत श्रमस्वीकृति लिएर ।
अर्को अचम्म त के छ भने पुरानै प्रक्रिया पुरा गरेर कामदार व्यक्तिगतर्फबाट अन्तिम श्रम स्वीकति लिएर उड्न पाएका छन् तर, संस्थागततर्फको भने अझै श्रम स्वीकृति खुलेको छैन ।
वैदेशिक रोजगारमा जानका लागि संस्थागतरुपमा (मेनपावर) जानु पर्छ भनेर वकालत गर्दै आएको सरकार आफैले व्यक्तिगत श्रमस्वीकृति दिएर अर्को गल्ति गर्दैछ । विदेश गएका कामदार भोलिका दिनमा समस्यामा परे मेनपावर कम्पनीहरुले उद्धार तथा क्षतिपूर्ती प्रदान गर्न सक्छन् तर व्यक्तिगतरुपमा गएकाहरुको कुनै टुङ्गो हुँदैन ।
अर्कोतर्फ मलेसिया रोजगारमा मात्र केन्द्रित ५ सय भन्दा बढि मेनपावर कम्पनीहरु ८ महिनादेखि प्राय बन्द अवस्थामा छन् । उनीहरुलाई बाइपास गरेर सरकारले अर्को समस्या उत्पन्न गरेको व्यवसायीहरुको नैै भनाई छ ।
यता पछिल्लो पटक वैदेशिक रोजगार विभागले मलेसियाली कम्पनीको अनुरोधमा ३० जना मलेसिया जाने केही कामदारकालागि सीधै श्रमस्वीकृति प्रदान गर्न आदेश दिएको छ । विभागले मन्त्रालयको सहमतिमै यस्तो आदेश दिएको हो ।
विभागले वैदेशिक रोजगार कार्यालय ताहाचाललाई लेखेको पत्रमा मलेसियास्थित ओटीए टनेल स्क्वायड एसडिए बिएचडीले विभागका महानिर्देशकलाई आफ्नो कम्पनीमा काम गरि नेपाल फर्किएका र काम गर्न कम्पनीसँग सम्झौता गरि मलेसियाको राजदूतावासबाट सीधै भिसा प्राप्त गरेका २० जना कामदार र सोझै भिसा प्राप्ति प्रक्रियामा रहेका थप १० कामदारलाई भिसा उपलब्ध गराउन आदेश दिएको हो । तर,सोझै भिषा प्राप्त हुने प्रावधान मलेसियाको छैन ।
विभागले भिसा स्वीकृतीका लागि श्रम, रोजगार तथा सामाजिक, सुरक्षा मन्त्रालयलाई सहमति माग गरि पठाएकोमा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम पत्रमा उल्लेखित सेवाका सबै शर्तहरु पालना गरि स्वीकृति प्रदान गर्न सहमति प्रदान गरेको जनाइएको छ । यससँगै गत जेठदेखि मलेसिया कामदार पठाउन बन्द गरेको मन्त्रालयले मलेसियाली कम्पनीको माग अनुसार श्रम स्वीकृतिमा सहमति दिएको छ ।
मन्त्री गोकर्ण विष्टको निर्देशनमा नै श्रम स्वीकृती पाएका २० जना नेपाली कामदार मलेसिया पुगेको सरकारी स्रोतको भनाई छ । श्रम मन्त्रीले दिएको निर्देशनसँगै करिब ९ महिनादेखी बन्द भएको मलेसियाको रोजगारी आंशिक त खुल्यो तर व्यक्तिगतरुपमा मात्र खुल्दा सरकारकै आलोचना बढेको छ ।
मन्त्रालयले कारवाही गरेको भिएलएन, वान स्टेप सेन्टर र बायोमेट्रिक मार्फत नै प्रक्रिया मिलाएर मलेसिया पुगेका हुन् । मलेसिया जानेमा कामदारमा कुमार लामा, शान्तबहादुर राना मगर, श्यामकुमार लामा, कर्णबहादुर श्याङ्बो, हर्ला थारु चौधरी, गरुणप्रसाद चौधरी, रामनारायण चौधरी, शिवनारायण चौधरी, सुरेन्द्रनारायण चौधरी, मनोजकुमार चौधरी, हरिबनस चौधरी, राजाराम थारु चौधरी, नबराज श्रेष्ठ, ददिलाल विक र भिक्की विक रहेका छन् ।
श्रम मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, वान स्टेप सेन्टर, जीएसजी तथा माईग्राम्सलाई खारेजीको घोषणा गर्दै कारवाहीको दायरामा ल्याएको थियो । कात्तिक १२ गते नेपाल र मलेसियाबीच भएको श्रम समझादारीमा ती संस्थाहरु जिवित रहने गरी दुईपक्षिय सम्झौता भएको थियो ।