वरिष्ठ वैदेशिक रोजगार व्यवसायी एवं पूर्व वन तथा भूसंरक्षण राज्य मन्त्री कमलादेवी शर्माको निधन भएको छ । ५६ वर्षीया शर्माको ह्रदयघातका कारण सोमबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शर्मा २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन राप्रपा नेपालबाट समानुपातिक प्रणालीतर्फबाट सभासद बन्नुभएकी शर्मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा भूसंरक्षण राज्य मन्त्री बन्नुभएको थियो ।

करिब अढाई दशकबाट वैदेशिक रोजगार व्यवसायमा संलग्न उहाँ रिजा ओभरसिज इम्प्लोइमेन्ट प्रालिकी सञ्चालिका पनि हुनुहुन्छ । तर, पछिल्लो समय शर्मा वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा खासै सक्रिय हुनुहुन्नथ्यो । उहाँ राजनीतिमै बढी सक्रिय हुनुहुन्थ्यो ।

उहाँ हाल राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य तथा महिला संगठनकी संयोजक हुनुहुन्थ्यो ।

शर्माका तीन छोरी र एक छोरा छन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।