प्रधानमन्त्री ओलीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास

३ अर्ब ४५ करोड लागतमा ११ तल्ले बन्ने
news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सुन्धारामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो ।

०७२ वैशाखको भूकम्पले भत्किएर ठूटो मात्र रहेको ९ तले धरहराको भगनावशेष यथावत राखी नजिकै आधुनिक प्रविधिद्वारा ११ तले धरहरा निर्माण गरिन लागेको हो । पुनर्निर्माणमा भएको ढिलाइले धरहरा ढलेको ३ वर्षपछि आज औपचारिक रुपमा पुनर्निर्माणको शिलान्यास गरिएको हो।

धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतको सुरुआत भने केही साताअघि नै भइसकेको छ । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमै ‘मै बनाउँछु मेरो धरहरा’ नारा दिएर रकम संकलन अभियान नै चलाएका थिए ।

पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको छ । कम्पनीले तीन अर्ब ४५ करोड रुपैयाँमा धरहरा निर्माणको जिम्मा पाएको हो ।

नयाँ बन्ने धराहरा र कम्पाउन्ड २९ रोपनी क्षेत्रफलमा फैलिने बताइएको छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेष्टुराँ, पार्किङलगायतका सुविधाहरु रहनेछन् । नयाँ बन्ने धरहरा ११ तलाको हुने जनाइएको छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी आधुनिक लिफ्ट हुनेछ ।

यद्यपि नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिने भए पनि धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । यसअघि विसं १९९० सालको भुइँचालोले भत्काउनुअघि धरहरा ११ तलाकै थियो, त्यतिबेला पुनर्निर्माणका क्रममा ९ तला मात्र बनाइयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *