रेमिट्यान्स आप्रवाह ३६ प्रतिशतले बढ्यो, शोधनान्तर घाटा ५७ अर्ब  

news-details

काठमाडौं – चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर स्थिति रु ५७ अर्ब ३३ करोडले घाटामा रहेको छ ।

केन्द्रीय बैंकले चालु आवका चार महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजश्व सङ्कलन ३०.५ प्रतिशतले बढेको उल्लेख छ ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ भने आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.० प्रतिशत रहेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको तथा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदायमा १८.६ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ३.६ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर २४.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले वृद्धि भई रु. २९ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ १८.३ प्रतिशत, चीनतर्फ ८.९ प्रतिशत र अन्य मुलुकतर्फ २.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कपडा, दन्त मञ्जन, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, रोजिन, छाला, जुत्ता, जी. आइ. पाइपलगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आवको समीक्षा अवधिमा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर रु. ४८३ अर्ब ७६ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३३.५ प्रतिशत, चीनबाट भएको आयात ४५.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाज, एम.एस. बिलेट, अन्य मेशिनरी उपकरण तथा पार्टपुर्जा, सवारी साधन तथा पार्टपुर्जा, धान चामल लगायत वस्तुको आयात बढेको छ भने सिमेन्ट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ उपकरण तथा औजार लगायत वस्तुहरुको आयात घटेको छ ।

चालु आवका चार महिनामा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले विस्तार भई रु. ४५४ अर्ब ४८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.१ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत थियो ।

-लोकान्तरबाट

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *