श्रममन्त्री विष्टलाई सोल्टी होटलमा ताली, श्रमग्राममा भने मात्रै गाली !

news-details

काठमाडौंको सोल्टी होटलमा भएको कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय परामर्श बैठकलाई श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संवोधन गर्दै श्रमिकहरुको अधिकारका लागि नेपाल सरकारले धेरै राम्रा कदम चालेको भनेर अन्य ११ देशका श्रममन्त्रीलाई जानकारी गराइरहेका थिए । कार्यक्रममा सहभागी देश तथा विदेशका पाहुनाहरुले ताली बजाएर मन्त्रीको संवोधनलाई साथ दिइरहँदा २ सय मिटर टाढा रहेको वैदेशिक रोजगार विभागको काठमाडौं शाखा कार्यालय श्रमग्राममा विदेश जान लागेका नेपालीहरु सरकार र मन्त्रीलाई गालि गरिरहेका थिए ।

पुनः श्रम स्वीकृति लिनका लागि श्रमग्राम ताहचलमा दुई दिनदेखि धाइरहेका अधिकांश युवाहरु सरकारले सेवाग्राहीलाई वेवास्ता गरेको बताएका छन् । उनीहरुको एउटै आक्रोष छ ‘आफ्नै अगाडि जनताले दुःख पाएको त हेक्का राख्न नसक्ने सरकार र मन्त्रीज्यूले विदेशमा पुगेपछि हेर्लान् भनेर त कल्पना समेत गर्न सकिदैन ।’ उनीहरुले नेपालमा नै राम्रो सेवा दिन सुझाइरहेका थिए ।

बाग्लुङका युवराज सापकोटाले श्रमग्राम धाएको दुई दिन भएछ । हिजो दिनभर लाइन बसेका सापकोटा आज ३ बजेसम्म पनि पालो नआएपछि निकै आक्रोषित बने । ‘हामीले पठाएको रेमिट्यान्सबाट देश चै चलाउने तर हामीले पैसा तिर्दा समेत सहज सेवा नपाउने ?’ उनले श्रममन्त्री विष्टलाई लक्षित गर्दै भने–‘ श्रमिकको पक्षमा सरकारले काम गरेको छु भनेर नखोके हुन्छ नत्र एक पटक ताहचल आएर हेर्नुहोला ।’

विहान ३ बजेदेखि साउदी जानका लागि पुनःश्रम स्वीकृति लिन लाइन बसेका मनबहादुर भण्डारी र विष्णुहरी गैरेको भोलिपल्टकै टिकट छ । तर, ३ बजेसम्म पनि पालो नआएपछि उनीहरु निराश बनिरहेका थिए । ‘पैसा खुवाउनेहरुले बिहानै काम गरेर गए, हाम्रो टिकट नै खुस्कने भयो’ उनीहरुले भने–‘सरकार भाषण र चर्चा बटुल्दै हिड्छ तर हाम्रो समस्यामा आँखै देख्दैन ।’

कतारमा ९ बर्ष बसिसकेका दिपेन्द्र चुडालले त पहिलाको भन्दा यसपटक श्रमग्राम अस्तब्यस्त भएको पाए । ‘२ वर्ष पहिला २० मिनेटमा काम भएको थियो अहिले एक दिन बित्दा समेत अत्तोपत्तो छैन’ उनले भने–‘श्रमस्वीकृति नेपाली दूतावास वा प्रदेशबाटै दिने व्यवस्था छिटो गरियोस् ।’

चाढबाड पश्चात पुनःश्रमस्वीकृति लिनेको संख्या बढ्नु स्वभाविक हो तर सरकारले कर्मचारी थप गरेर सेवा दिनुको सट्टा सेवाग्राहीलाई घण्टौं लाइनमा कुराउनमै मज्जा लिइरहेको छ । ‘आफ्नै मातहतको कार्यालयको व्यवस्था सुधार गर्न नसक्ने सरकारले विदेशमा गएका नेपालीको अधिकार कसरी रक्षा गर्न सक्ला’ प्रश्न जताततै छ ।

यता काठमाडौं शाखाका निमित्त प्रमुख युवराज खतिवडा सेवाग्राहीले ५ मिनेटमा नै स्टिकर पाउने ठोकुवा गर्दछन् । तर, उनलाई आफ्नै कार्यालय अगाडि उभिएका सेवाग्राहीको आवाज सुन्ने फुर्सद समेत रहेनछ । सायद उनले सेटिङमा हुने काम चै ५ मिनेट भनेका हुनकी हामीलाई शंका जागेको छ ।

यता कोलम्बो प्रोसेसको बैठकमा श्रम मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकको हक अधिकार सुरक्षा गर्ने बाटोमा नेपालले विशेष कार्यक्रमहरु अघि बढाइ रहेको बताइरहेका थिए । तर, मन्त्रीज्यूलाई आफ्नै अगाडि श्रमिकले दुःख पाएको हेर्ने फुर्सद चै कहिले निस्केला ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *