पहिलाकै प्रक्रिया मार्फत नै कामदार मलेसिया पठाउने सहमती

news-details

मलेसिया जाने कामदारले विभिन्न प्रक्रिया मार्फत अतिरिक्त शुल्क असुलेको भन्दै बन्द गरिएको मलेसिया रोजगारी पुरानै प्रक्रिया अनुसार नै खुल्ने भएको छ ।

कामदारको भर्ना, रोजगार र फिर्ता प्रक्रियामा मलेसिया र नेपाल सरकारले हस्ताक्षर गरेसँगै प्राविधिक समितिले कामदार जाने प्रक्रियाबारे टुंगो लगाएको छ । उक्त समझादारी अनुसार कामदार मलेसिया जाँदा गर्नुपर्ने पुरानै प्रक्रिया पुरा गर्नु पर्ने भएको हो । जुन प्रक्रिया नै गलत भएको र नेपाली कामदारलाई ठगी गरेको भन्दै श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले खारेजी गरेका थिए ।

समझदारीपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन सहज बनाउन दुई देशका उच्च तहका कर्मचारी सम्मिलित प्राविधिक समिति गठन गरिएको थियो । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहित मलेसियास्थित नेपाली कार्यबाहक राजदूत कुमारराज खरेल तथा परराष्ट्र र कानुन मन्त्रालयका सहसचिव सम्मिलित टोली गठन गरिएको थियो । मलेसियाले नेपालका लागि कार्यवाहक राजदूत अहमद फाडिल इस्माइलसहित त्यहाँका मानव संशाधन र गृह मन्त्रालयका उच्च अधिकारीलाई टोलीमा राखेको थियो ।

प्राविधिक समितिका अनुसार समझदारीपत्रमा उल्लेख गरिए अनुसारै कामदार मलेसिया जानेछन् । नेपालबाट कामदार लैजाँदा मलेसियाले अवलम्बन गर्दै आएको प्रक्रिया अनुसार नै कामदार जाने र मलेसियन रोजगारदाताले कामदारको सम्पूर्ण लागत खर्च बेर्होनेछन्।
हाललाई पुरानै प्रक्रियाद्वारा कामदार लैजाने सहमति गरिए पनि प्राविधिक समितिको छलफल भने निरन्तर भइरहने र कुनै समस्या देखिए आपसी छलफबाट समाधान निकालिने जनाइएको छ ।

स्वाथ्य परीक्षण, राहदानी संकलन, अध्यागमन सुरक्षा जाँच तथा कामदारको भर्ना खर्च मलेसियन रोजगारदाताले बेहोर्ने दुई देशबीचको समझदारीपत्रमा उल्लेख छ । तर कामदारले स्वदेशमा आफैं पैसा तिर्नु पर्ने र मलेसिया पुगेपछि रोजगारदाताले सोधभर्ना गर्ने जनाइएको छ ।

यसको मतलव कामदारले पहिलाकै जस्तो अगावै पैसा तिर्नु पर्ने भएकाले सम्झौताले खासै उत्साहित नबनाएको जानकारहरु बताउँछन् ।
‘हिजो खारेज गरेका संस्था नै आज सक्रिय हुने भएका छन, त्यसोभए किन ५ महिना रोजगारी बन्द गरियो’ मन्त्री विष्ट माथि प्रश्न आउन थालेको छ ।
मलेसिया कामदार पठाए वापत मेनपावरले १० हजार मात्र सेवा शुल्क लिन पाउने व्यवस्था अहिले छ तर आधा महिनाको तलव लिन पाउने प्रावधान पनि आफैमा विरोधाभाष छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *