राष्ट्रपति भण्डारी कतार प्रस्थान, यस्तो छ भ्रमण तालिका

news-details

काठमाडौं र राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने कतार भ्रमणका लागि दोहा प्रस्थान गरेकी छिन् । बिहान साढे ११ बजे उनी कतार प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए ।

कतारले राष्ट्रपति भण्डारीलाई पहिलो कार्यकालमै निम्तो दिए पनि युएई भ्रमणको एक वर्षपछि आफ्नो दोस्रो कार्यकालमा बल्ल कतारको भ्रमणमा निस्किएकी हुन् ।

कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणमा कतार प्रस्थान गरेकी उनले त्यहाँ रहँदा अमिर शेख अलथानीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । १३ कात्तिकमा उनले आमिर अलथानीसँग भेटवार्ता गर्ने छिन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा आमिर शेखले द्विपक्षीय भेटवार्तापछि दिवा भोज आयोजना गर्ने छन् ।

त्यस्तै कतार बसाईका क्रममा राष्ट्रपति भण्डारीसँग कतार फाउण्डेशनकी अध्यक्ष तथा संस्थापक शेख मोजा विन्ट नासेरसहितका उच्च अधिकारीहरुले भेट गर्ने कार्यक्रमसमेत रहेको छ ।

राष्ट्रपति भण्डारीले त्यहाँ रहँदा त्यहाँका व्यवसायिक समुदायले आयोजना गर्ने ‘नेपालमा व्यवसाय तथा लगानीको अवसर’ विषयक संयुक्त अन्तर्क्रिया कार्यक्रमलाई मंगलबार नै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै भ्रमणको पहिलो दिन सोमबार उनले कतारस्थित नेपाली दूतावासको भ्रमण गर्ने छिन् । उनले दूतावासमा नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

उनको सम्मानमा कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *