कपिलवस्तु । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबारदेखि लगाएको कर्फ्यू सोमबार मध्यान्नसम्मका लागि हटाइएको छ । आइतबार साँझ ५ बजे लगाइएको कर्फ्यु सोमबार बिहान ८ बजे देखि दिउँसो १२ बजे सम्मका लागि हटाएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यु लगाउने निर्णय गरेको थियो । कर्फ्यु हटेपछि कृष्णनगरको जनजीवन सामान्य बनेको छ।
शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको हो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताए । शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् । रासस








