संयुक्त समितिका दुबै सभापति निर्विरोध चयन, आइतबार घोषणा हुने

news-details

काठमाडौ । संघीय संसद्का दुई संयुक्त समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन । सभापतिका लागि शनिबार भएको मनोनयनमा दुबै समितिमा एकल मनोनयन दर्ता भएको हो ।

एकल मनोनोयन परेको अवस्थामा निर्विरोध हुने नियमावलीको प्रावधान छ । निर्विरोध भए पनि सभापति भएको औपचारिक घोषणा भने सम्बन्धित समितिले आज आइतबार गर्नेछन् ।

संयुक्त समितिमध्ये एकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र एकमा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट मात्र मनोनयन परेको हो । संघीय संसद् सचिवालयका सहसचिव ध्रुवप्रसाद घिमिरेले दुवै समितिमा एक–एक जनाको मनोनयन भएको जानकारी दिए ।

दलीय सहमति अनुसार दुबै समितिमा एक–एक उम्मेदवारी परेको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने दुवै समितिमा सभापतिका लागि उम्मेदवारी दिएन । संयुक्त समितिमा सत्तारुढ दल नेकपाको बहुमत छ ।

सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिमा राजपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका लक्ष्मणलाल कर्णको मात्र मनोनयन परेको छ । कर्णको प्रस्तावकमा अमृता थापा र समर्थकमा निरुदेवी पाल, योगेश भट्टराई र शिवकुमार मण्डल छन । कर्णले अहिले पनि ज्येष्ठ सदस्यका हैसियतले उक्त समितिको सभापतित्व गरिरहेका छन ।

यस्तै, संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपा सांसद् निरुदेवी जैरुको मात्रै मनोनयन दर्ता भएको छ । जैरुको प्रस्तावकमा गणेशसिंह ठगुन्ना र समर्थकमा प्रभु साह रहेको सचिवालयले जनाएको छ ।

नियमावलीको प्रावधान अनुसार आज आइतबार सम्बन्धित समितिमा सभापति चयनको औपचारिक निर्णय हुनेछ । उम्मेदवारका प्रस्तावकले प्रस्ताव पेस गरेपछि समर्थकले समर्थन गर्नेछन् । प्रस्तावक र ससमर्थकको धारणापछि ज्येष्ठ सदस्यले औपचारिक रुपमा निर्विरोध भएको घोषणा गर्नेछन । प्रतिनिधिसभा सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि निर्वाचित सभापतिहरुले पदभार सम्हाल्नेछन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *