काठमाडौं र नेपाल चिकित्सक संघको अगुवाइमा आइतबारदेखि देशभरका चिकित्सकहरू आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । मुलुकी अपराध संहिता, २०७४ को विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूले नयाँ मुलुकी अपराध संहिताले चिकित्सकहरूलाई अपराधीको संज्ञा दिएको भन्दै विरोध र्‍यालीसमेत निकालेका छन् ।

माइतीघरबाट निस्किएको विरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्राडा गोविन्द केसीले चिकित्सक र बिरामीबीचको विश्वासको सम्बन्ध बलियो बनाउनुपर्नेमा यो कानुनले अप्ठ्यारो पार्ने हुँदा उक्त कानुन फिर्ता लिनुपर्ने बताए । उनले भने, ‘राजनीतिक दलहरूले सरकारी स्वास्थ्य संस्थालाई खाने भाँडो बनाएर धरासायी बनाएको बेलामा त्यही संस्थामा काम गर्ने चिकित्सकले उपचार गर्दा बिरामी केही भए अपराध ठहरिने कानुन ल्याउनु भनेको गलत काम हो, त्यसैले यो जनतामारा कानुन चाहिँदैन ।

‘कार्यक्रममा वरिष्ठ स्नायू रोग विशेषज्ञ डा वसन्त पन्तले नेपालको स्वास्थ्य क्षेत्र सुधार हुँदै गएको बेलामा चिकित्सकहरूलाई अपराधीको संज्ञा दिँदै ल्याइएको यस कानुनले भोलिका दिनमा चिकित्सा शिक्षालाई कमजोर बनाउँदै लैजाने बताए । उनले भने, ‘नेपालको चिकित्सा क्षेत्रको विकास हुँदै गएको बेलामा सेतो कोट लगाएर मुसुमुसु हाँस्दै हिँड्ने सोझा चिकित्सकहरूलाई जे गरे पनि हुन्छ भनेर यस्तो कानुन ल्याइएको होला, चिकित्सकहरू सोझा छैनन् । यस कानुनले भोलिका दिनमा स्वास्थ्य सेवा प्रवाहलाई कमजोर बनाउँछ ।’

यस्तै, नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले हाल लागू भएको मुलुकी अपराध संहितामा चिकित्सकहरूबारेको प्रावधान संशोधन नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने बताए ।

गत वर्ष ३० असोजमा प्रमाणित भएको उक्त संहिता गत १ भदौबाट लागू भएपछि चिकित्सकहरू आन्दोलित भएका हुन् । उनीहरूले गत १ भदौबाटै आन्दोलनमा उत्रिने बताए पनि सरकारको आश्वासनपछि १५ दिनका लागि आन्दोलनका कार्यक्रम पर सारेका थिए । तर सो अवधिमा सरकारले कुनै प्रयास नगरेपछि आन्दोलनमा उत्रिएको संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठको भनाइ छ ।

संघले ऐन संसोधनको प्रक्रिया अघि नबढाए बुधबारबाट आकस्मिकबाहेकका अप्रेसन नगर्ने र शुक्रबारबाट अनिश्चितकालीन हडतालमा उत्रिनेसमेत चिकित्सकहरूले बताउँदै आएका छन् ।

छ हजार चिकित्सकले फिर्ता गरे आफ्नो लाइसेन्स

आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आइतबार नेपाल मेडिकल काउन्सिल पुगेर चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) फिर्ता गरेका छन् । चिकित्सकहरूलाई उक्त संहिताले अपराधीको संज्ञा दिएको भन्दै आइतबार बिहान आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माइतीघरबाट नयाँ बानेश्वरसम्म निकालेको र्‍यालीलाई समापन गरेर नेपाल चिकित्सक संघले आफ्ना सदस्यहरूबाट संकलन गरेको छ हजार बढी लाइसेन्स १ बजे काउन्सिलमा लगेर फिर्ता गरेको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।

काउन्सिलको तथ्यांकअनुसार हाल नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन् ।