बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को १६औँ मन्त्रीस्तरीय बैठक सुरु भएको छ । काठमाडौंस्थित होटल सोल्टीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा सदस्य देशका परराष्ट्र र बाह्य मामिला तथा विदेशमन्त्रीले सम्बोधन गर्नेछन ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् ।

त्यसैगरी बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ ।

बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि के सिंह, म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छन ।

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गरेका छन । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो । रासस