कञ्चनपुरमा प्रहरीको गोली लागि ४ जना आन्दोलनकारी घाइते, अनिश्चितकालिन कर्फ्यू

news-details

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनका कारण तनावग्रस्त रहेको कञ्चनपुरमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपनि हत्याको छानविनप्रति असन्तुष्टि जनाउदै शुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।

आन्दोलन शुरु भएको तेस्रो दिन प्रहरीले महेन्द्रनगरमा गोली चलाएको छ । प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गोली चलाएको हो । आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय जाने बाटोतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर ४ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्त नगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ ।

प्रहरीले भने गोली नचालाएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्यास प्रहार गरिएको बताए ।

प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू लगाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *