काठमाडौं / शताब्दीकै लामो खग्रास चन्द्रग्रहण शुक्रबार लाग्दैछ । मध्यरात  १२:०९ मा सुरु हुने ग्रहण शनिबार बिहान ४:०४ मिनेटसम्म देख्न सकिने खगोलशास्त्रीहरूले जनाएका छन् ।

‘अब यस्तो ग्रहण आउन १०५ वर्ष कुर्नुपर्छ’,वरिष्ठ खगोलविद् तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक जयन्त आचार्यले भने, ‘आज मध्यरातमा लाग्ने चार घण्टाको खग्रास चन्द्रग्रहण शताब्दीकै सबैभन्दा लामो हो ।’ उनका अनुसार सामान्यतः बढीमा तीन घण्टासम्म ग्रहण लाग्छ । पृथ्वीको छायाले पूरै चन्द्रविम्ब छेकिने भएकाले यसलाई खग्रास चन्द्रग्रहण भनिएको हो । खगोलविद्हरूका अनुसार संसारका विभिन्न देश र नेपालबाट पनि ग्रहण देख्न सकिनेछ ।

‘क्यानडा तथा अलास्काबाहेक सबै देशमा यो ग्रहण देखिनेछ’, आचार्यले भने, ‘मौसमले साथ दिए नेपालका सबै भू–भागमा पूरै अवधि ग्रहण हेर्न सकिनेछ।’ यो ग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामेरा वा अरु कुनै सामग्रीमार्फत हेर्दा आँखालाई असर नगर्ने उनले बताए । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले शुक्रबार राति साढे ११ देखि साढे चार बजेसम्म टेलिस्कोपबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको जनाएको छ ।

कसलाई कस्तो फल ?

फलित ज्योतिषमा विश्वास राख्नेहरूहरूका लागि पञ्चा‌ंगहरूले शुक्रबार देखिने खग्रास चन्द्रग्रहणको फल बताएका छन् । मेष, सिंह, वृश्चिक तथा मीन राशि भएका मानिसले हेर्न सक्नेछन् । वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशिकाले हेर्न नहुने नेपाल पञ्चा‌ग निर्णायक समितिबाट स्वीकृति पाएका पञ्चा‌ंगहरूले उल्लेख गरेका छन् ।

धार्मिक विश्वास ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदी, कुण्ड आदिमा गई ग्रहण नुहाई शुद्ध हुने विधि पुराणहरूमा बताइएको छ । तन्त्रलगायतको साधना गर्नेले पनि ग्रहणलाई अवसरको रूपमा लिन्छन् । खग्रास ग्रहण भएकाले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई भोजन निषेध गरिएको पञ्चा‌ंगहरूले जनाएका छन् ।