संचारकर्मी होम कार्कीलाई ‘अनेसास शिखर पुरस्कार’
- मंसिर १२, २०८१
- 0
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार च्याप्टरले यस वर्षको ‘अनेसास शिखर पुरस्कार’ संचारकर्मी होम कार्कीलाई प्रदान गरेको छ ।
प्रवासी नेपालीको भाषा, साहित्य, कला तथा पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कान्तिपुर दैनिकमा आवद्ध कार्कीलाई सोमबार पुरस्कृत गरिएको हो ।
अनेसास शिखर पुरस्कार समितिका संयोजक प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा काठमाडौंमा आयोजित समारोहमा पत्रकार कार्कीलाई वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अनेसासका पूर्वअध्यक्षहरु मोहन सिटौला, राधेश्याम लेकाली र रमेशानन्द वैद्यले ताम्रपत्र र नगद ३३ हजार ३ सय ३३ रुपैयाँका साथ दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
अनेसास कतारका अध्यक्ष लेख कार्कीले प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगीतमा समर्पित एक उत्कृष्ट श्रष्टालाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको बताए । साहित्यकार स्वर्गीय शिखर वैद्यको सम्मानमा अनेसास कतार च्याप्टरले यो पुरस्कार स्थापना गरेको हो । स्वर्गीय वैद्य अनेसास कतारका संस्थापक अध्यक्ष हुन् ।