गोर्खा लाहुरेको कथा बोकेको साहित्यकार राईको उपन्यास ‘किवाहाङ’ माथि परिचर्चा
- साउन १३, २०८१
- 0
संखुवासभा जिल्लाका साहित्यकार राजकुमार राईको उपन्यास‘किवाहाङ’माथि साहित्यकारहरुले चर्चा परिचर्चा भएको छ ।
गत असारको अन्तिमतिर विमोचित उपन्यास ‘किवाहाङ’लाई पाठकहरूले निक्कै रुचाउँदै आएपछि यस उपन्यासका बारेमा सो परिचर्चा कार्यक्रम आयोजना गरिएको हो । यस उपन्यासका बारेमा साहित्यकारहरू गीता रेग्मी, नन्दु उप्रेती, डा. पुरन राई, राजकुकार बानिया र प्रा. डा. कुमार कोइरालाले समीक्षा गरेका हुन् ।
परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार गीता रेग्मीले किवाहाङ उपन्यासको परिचर्चा गर्दै राजकुमार राईले अत्यन्त कुशल तरिकाले उपन्यास लेखेको कुरा बताइन् । रेग्मीले यस उपन्यासमा दोस्रो विश्वयुद्धलगत्तै पूर्वी नेपालको सङ्खुवासभादेखि हङकङ, मलेसिया, सिंगापुर, ब्रुनाई र युकेसम्म ब्रिटिस गोर्खाहरूले भोगेका कथाहरू रहेको कुरा पनि प्रस्ट पारिन् । उनले गोर्खाहरूको पैसाले नेपालका दरबार बनेका र शासकहरू पालिएको तितो सत्यलाई उपन्यासले उजागर गरेको कुरा पनि बताइन् ।
प्राज्ञ नन्दु उप्रेतीले यस उपन्यासमाथि समीक्षा गर्दै आफू उपन्यासका पात्रहरूको खुसीमा हाँसेको अनि दुखमा रोएको कुरा बताए । गोर्खाहरूको बारे अनुशन्धन गर्न परे लाखौ वजेट लाग्ने काम उपन्यास लेखनको क्रममा लेखकले खोज अनुसन्धान गर्नु भएर अर्कों महत्वपूर्ण कर्म पनि गरेका छन। उप्रेतीले उपन्यासको सजीव प्रस्तुतिले पाठकहरूलाई राम्रोसँग प्रभाव पार्छ भन्दै उपन्यासले हङकङ, मलेसिया, ब्रुनाई, सिंगापुर र युकेको भ्रमण गराउने कुरा पनि व्यक्त गरे ।
डा. पुरन राईले किवाहाङ उपन्यासमा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, ब्रुनाई र युकेका सांस्कृतिक कुरालाई समेटिएको छ भन्दै त्यतिबेला गाउँ लाहुरेको तलबमा निर्भर हुन्थे भने अहिले देश नै वैदेशिक रोजगारीबाट आएको रेमिटेन्समा निर्भर भएको कुरा बताए । उनले यस उपन्यासले गोर्खा लाहुरेहरूको मनोविज्ञानलाई सूक्ष्म तरिकाले व्यक्त गरेको कुरा पनि राखे ।
परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै राजकुमार बानियाले राजकुमार राईबाट बडो आँट र मेहनतका साथ किवाहाङ उपन्यास लेखिएको कुरा राखे । उनले उपन्यास पढ्दा गाउँ नै रित्तिएर लाहुरे बनेको आफ्नो स्कुले जीवनको स्मरण भएको कुरा बताए । उपन्यासले दोस्रो विश्वयुद्धपछिको गोर्खाहरूको इतिहासका बारेमा पनि प्रशस्तै ज्ञान दिएको कुरा उल्लेख गरे ।
प्रा. डा. कुमार कोइरालाले गोर्खाहरूप्रति नेपाली समाजको नकारात्मक भाष्यको विरुद्धमा राजकुमार राईबाट यो उपन्यास लेखिएको हो भन्दै गोर्खा पल्टन बहुविश्वविद्यालय हो भन्ने कुरा पनि प्रस्टयाएको कुरा राखे ।
प्रा. डा. कोइरालाले नेपाली शासकहरूले गोर्खाहरूप्रति गरेको अन्यायका बारेमा पनि उपन्यासले आवाज उठाएको कुरा स्पष्ट पारे । यस उपन्यासले किरात संस्कृति र आञ्चलिकतालाई बडो सुन्दर तरिकाले प्रस्तुत गरेको कुरा पनि बताए ।
कार्यक्रमको अन्त्यमा उपन्यासकार राजकुमार राईले आफूले किवाहाङ उपन्यास लेख्नुका कारणहरूबारे प्रस्ट्याएका थिए । उनले भने, गोर्खाहरूको इतिहास सही तरिकाले लेखिएको छैन । सम्बिन्धत गोर्खाहरूले भन्दै आएका तथ्य र लिखित इतिहासमा समानता छैन । मैले उपन्यासमा गोर्खाहरूको सत्य कुराहरूलाई समावेश गराउने प्रयत्न गरेको छु । आगामी उपन्यासमा पनि सही कुराहरूका बारेमा कलम चलाउने छु ।’ उपन्यास किरात संस्कृति लाहुरे सस्कृति विश्वमा नेपाल र नेपाली को पहिचान परिचित गोर्खाहरु हुन उनिहरूले दुइ विश्व युद्धको क्षतिपूर्ति नपाएको बारे नेपाल मौन वसेकाले पनि उपन्यास मार्फ़त उठाउनु खोजेको वताए । गोर्खाहरूको माग गोर्खाहरूको मात्र सोचिएको छ उनिहरूको माग नेपालको माग वनाउन बौद्धिक समुदायलाई अनुरोध गरे।
परिचर्चा कार्यक्रममा दर्शकहरूले किवाहाङ उपन्यासका बारेमा समीक्षकहरूलाई प्रश्नहरू सोधेका थिए भने समीक्षकहरूले ती प्रश्नहरूको उत्तर पनि दिएका थिए । कार्यक्रमलाई भावेश भुमरीले सञ्चालन गरेका थिए । यस कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराई, डा. अञ्जना वस्ती, डा. तुलसी भट्टराई, डा. ज्ञानु पाण्डे, डा. शोभा ढुड्गाना, बुलु मुकारुङ, डा. अम्बिका आर्याल, सहप्राध्यापक बालकृष्ण माबुहाङ, डा. धर्मेन्द्रकुमार यादव ‘सदावहार’, कृष्ण बाउसे, महेश पौडेल, कृष्ण प्रसाईं, रमेश गाउँले, दिव्य गिरी, हरि गौतम, नरनाथ लुइँटेल, अनिता पन्थी, किवाहाङ राई, सचित राई, डीआर राई चन्द्र घुण्डे , महेश प्रेमी उदाश लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।