कविता : मेरा दुई वडाध्यक्ष
- शम्भु सुस्केरा
- जेष्ठ २, २०७७
- 0

एउटा शहरको
जहाँ म बस्छु
अर्का गाउँको
जसलाई मैँले छोडेँ ।
शहरमा मैँले भोट दिएको
गाउँमा श्रीमतीले
दुबैले जिते
दुबैलाई मैँले स्वागत गरेँ
किनकि
दुबै मेरा वडाध्यक्ष ।
दुबैको दल एउटै
सिद्धान्त एउटै
गन्तब्य एउटै
प्यानल नि एउटै रे,
उमेर पनि त उस्तै
युवा वय ।
तर किन उस्तै लाग्दैनन् दुबै
सोच, बिचार र काम गराईमा
नितान्त फरक ।
एउटाले मान्छे हेरेर बजेट बाँड्छन्
हरेक वर्ष,
अर्कोले आवस्यकता हेरेर
आफ्ना हेरेर योजना बनाउँछन् एउटाले
अर्कोले औचित्य हेरेर,
कोरोना देशमा छिरेपछि
एउटाले किटाणु मार्न सेनिटाइज गरे
घर र टोलै पिच्छे,
अर्काले
घर छानीछानी झोल छर्किए
एउटालाई थाहा छ
कोरोनाबाट सबैलाई बचाउनुपर्छ
अर्कोलाई थाहा छ
पहिले आफ्नालाई बचाउनुपर्छ
त्यसैले
एउटाले नागरिकता हेरेर पोका बाँडे
अर्काले भोको पेट गनेर भोजन बाँडे
दुबै मेरा वडाध्यक्ष ।
एउटाले लकडाउन पालना गराउँछन्
आफू अनुगमन गर्छन
अर्को लकडाउन पालना गर्छन् आफू
र जनतालाई स्वतन्त्रता प्रदान गर्छन् ।
एउटाले वडामा क्वारेन्टाइन बनाउँछन्
पल्लो जिल्ला
र पल्लो देशबाट आएकाको
खोजी गर्छन्
क्वारेन्टाइनमा राख्छन्
र परिक्षण पनि गराउँछन्
अर्कोले दुबै गर्दैनन्
दुबै मेरा वडाध्यक्ष
एउटालाई मैँले मत दिएको
अर्कोलाई श्रीमतीले ।
एउटाले सबैको सुझाब लिन्छन्
अर्को सुझाव दिँदा रिसाउँछन्
जनताबाट सम्मानित हुन्छन् एउटा
अर्को पार्टी र आफन्तबाट पुरस्कृत,
लकडाउन उल्लंघन भएनभएको
आफैँ जानकारी लिन्छन् एउटा,
र खटिन्छन् आफैँ,
आइदेउन टोलमा अति भो
खति हुन्छ
निम्ता गर्छन् नागरिक
मुख देखाउँदैनन् अर्को
दुबै मेरा वडाध्यक्ष
जीउ रहे घिउ खाउँला
आज त्याग पछि प्राप्ती
अरुबाट सिकौँ,
सन्देश बाडौँ भन्छन् एउटा
संसार हेरेर सिकिरहन्छन्
र जनता जोगाउन
सिल गर्छन् वडा
अर्काको के कुरा
स्थगित भएका छन्
बालाजु बाइसधारा मेला
टोखाको सपनतिर्थ मेला
लाखौँको सहभागिता हुने बिस्केट जात्रा
र देशभरका सबै मेला, पर्व
र जात्रा ।
कानमा कपास राख्छन्
आँखामा बादलले ढाक्छन्
र बैठक बसेरै निर्णय गर्छन्
र उर्दी गर्छन् जात्रा गर ।
सूचना टाँस्छन्
हगे हग मुते काटुँला
जात्रा गर तर भेला नहोऊ
भेला नभई जात्रा हुन्न
जात्रा नभई भेला हुन्न
लाखेको रमितामा रमाउँछन् आफूपनि
कालो चश्माले आँखा छोपेर
आफ्नै घरको छत माथिबाट
ढोलक, खैँजडी र मुरलीको मीठो आवाज सुन्छन्
मेरा वडाध्यक्ष
एउटा २०५४ को जस्तो
आफ्नो अधिकार
र कर्तव्य ज्ञात नभएको
अर्को २०७४ कै जस्तो
आफू, समय
र जनतालाई चिन्न सक्ने
दुबै मेरा वडाध्यक्ष
घर सल्लाह गरेरै
भोट दिएको
एउटालाई श्रीमतीले
अर्कोलाई मैँले
त्यसैले
दुबै मेरा वडाध्यक्ष ।