अनुभूति : आधा तिनको पीर, आधा आफ्नै चिन्ता
- शम्भु सुस्केरा
- भदौ २, २०७५
- 0
आगो जस्तो छ घाम । र, समय पनि उस्तै छ ग्रेडामा । बिरक्त छ मन । बिचलित छ बिचार । छड्किरहन्छ भातको माड जस्तै ।
मेरो देश, मेरो झापा र मेरो काठमाडौँमा झुल्किने, तात्ने र अस्ताउने घाम पनि यही भन्ने नै लाग्दैन । जमीनको रातो बालुवामा माथिको तातो घामले ज्वाला ओकल्न खोज्छ, ओकलिरहेको छ । अनि मन र शरीर भतभती पोलिरहन्छ दुर देशमा एक्लोपन र मरुभूमिको सूर्यको तापले ।
आन्तरिक द्धन्द्धको पिरलो छ, घामको पिरलो पनि उत्तिकै, अन्न फल्ने माटो छैन बालुवा मात्रै छ । रोजगारको पिरलो कम छैन । यी लगभग साझा छन् त्यो धर्ति र आकासकाबीचमा । त्याँहाका सामान्य जनका दैनिकी हुन् यी ।
र पनि जीवन चलेकै छ र पनि समय कुधेकै छ । मान्छे हाँसेकै छन् । सपना पालेकै छन् पुरा गर्न पसिना बगाएकै छन् ।
तर मलाई अत्यास लाग्छ । यो माटो मेरो भएको भए ? म यो देशमा जन्मेको भए ? हरे कल्पनासम्म गर्दा टाउको टन्केर आउँछ । केही घण्टाहरू, दिनहरू र महिनाहरू वर्षौँ जस्ता लागेका छन् । र त एक वर्षमा तीन पटक नेपाल आएको छु सुडानबाट ।
पहिलो पटक युएन मिशन जाने आशमा जति उमंग र उत्साहले सपना पालेर प्लेन चढियो, त्यसपछि विदा सकेर जाँदा सधैँ ओइलाएको साग जस्तै भएँ म । विदा सकिनलाग्दा नै ती परिवेशहरू सम्झनामा आउँथे र निन्द्राबाट ब्युँझनासाथ भारी हुन्थ्यो शरीर । खै किन हो जीवनमा त्यति ठूलो आय आर्जन गर्ने अवसरको खुशीले पनि नजित्ने बनाइरह्यो त्यो विरक्तिलो घाम, पानी र बालुवाले ।
तर पनि प्रिय, सज्जन सुडानीहरू हाँसेकै छन् बाँचेकै छन् र अगाध माया गरेका छन् देशलाई । देशलाई माया नगर्दा हुन् त परिवारको प्रिय पात्र मारिँदा, श्रीमती र छोरीको इज्जत आँखै अगाडि लुटिँदा पनि पलायन भएका छैनन् । सहेर बसेका छन् खोल खाएर पनि विदेशीको सिदा मै चित्त बुझाएका छन् ।
देशभक्ति त मर्दैन चुत्थै देश भएपनि । बालकृष्ण समले भने जस्तै होला ।
ती प्यारा, सहयोगी सुडानीहरू पीडाले जलिरहेकै छन्, देश टुक्रिएको छ, मन टुक्रिएको छ, एकता र भाइचाराको अभावमा । एकातिर मेरो मन उराठीलो भएर देशको यादमा तड्पिरहेको छ । अर्कातिर सुडानीको जीवनशैली देखर बिरक्तिन्छ घरिघरि । जबजब उनीहरूका वस्तीतिर डायरी र कलम बोकेर जान्छु, गुनासाका पहाडहरू टिपेर ल्याउँछु दिनभरि बोझिलो भइरहन्छ तिनको अप्ठ्याराहरूले । कम्पाउण्डका बार छेउको फेब्रिकेटेड सयलमा आँखा चिम्लेर एकाग्र हुन खोजेको छु । निर्विचार हुने प्रयत्नमा छु । तर झन–झन बिचार खेल्न थाल्छन् । कहिल्यै नसोचेको बिचार र बिर्सेका कुराहरू पो सम्झनामा आइदिन्छ । तैपनि प्रयासरत छु ।
उतापट्टि तारबारतिरबाट आएका आवाजहरूले पनि बाधा गर्छन् । कोही बूढी आमहरू, कोही नाङ्गै नानी बोकेका तरुनी आमाहरू र बालबालिका खाने कुरा माग्न हात पसार्दै मेरो ध्यान तोड्नमा ब्यस्त छन् । जुरुक्क उठेर हिँड्नै लाग्दा मेरो क्याम्पको उत्तरपट्टि एक्कासी आगोको मुस्लो देखिन्छ र चिच्याहट ठोक्किन्छ कानभरि । म झन बिचलित हुन्छु ।
थुप्रैचोटी आगो निभाउनु परेको छ । जागीर खानुअघि गाउँमा र जागीर खाएपछि उदयपुरको रामपुरमा । मेरै पनि भान्सा घर जलेको थियो दश वर्ष अघि । धन्न छिमेकीले ठूलो घर बचाइदिएछन् ।
बरु चोर लागोस् तर आगोले घर नजलोस् भनेको सुनेको छु धेरैपटक । हुन पनि हो । चोरले केही धनमाल लैजान्छ धेरै चिज बाँकी रहन्छ, आगो लाग्यो भने सबै खाइदिन्छ शरीरको लुगा मात्र बाँच्छ । फेरि त्यति नै गुमेका धनमाल जुटाउन बषौँ लाग्छ । यस्तो त सत्रुलाई पनि नहोस् ।
यी यावत बिगत र सत्यहरू मनमा आए । जसरी गाउँमा कसैकोमा आगो लाग्दा चप्पल खोलेर चिच्याउँदै कुध्थेँ । जसरी प्रहरी बनेपछि युनिफर्म लगाउन नपाई आधा सिभिल लुगा र आधा वर्दी लगाएकै अवस्थामा कुधियो ।
म गाउँमै छु, म नेपालमै छु । मेरै छिमेकीको घर जलिरहेको छ । सायद यस्तै लाग्यो मलाई । क्याम्प भित्र खैलाबैला भयो । म दौडिएँ आगोको मुस्लो भएतिर । संयोगले हाम्रो क्याम्पको मूल गेट पनि उत्तरतिरै थियो । जब म मूल गेटमा पुगेँ हाम्रो सुरक्षाका लागि खटिएको गेटको नाइजेरियन आर्मीले रोक्यो । माथिबाट अनुमति नलिइ जान पाइन्न रे ।
म झसंग भएँ यतिबेला पो । हो त नि सेफ्टी फस्ट । मलाई थाहा भो म त युएन क्याम्पभित्र पो छु । नाइजेरियन आर्मीहरू पनि दौडिन पाएका थिएनन् । उनीहरूको समवेदना पनि त उस्तै हो । गेटमा मजस्तै थुप्रै देशका प्रहरीहरू थुप्रिएका थिए अरुपनि । केही छिनमा भित्रबाट आर्मीहरू दौडिएर आएपछि गेट खोलियो सायद आदेश आएछ ।
हामी पुग्दा आधाआधी त जलिसकेको थियो । घर पनि के गतिला थिएर बिचराका । प्लास्टिककै छानो र बेरा पनि उस्तै । खरानी समेत हुन पाएन एकै पोको परेका थिए । चिहिल र बिहील बालबालिका बुढाबुढी र नानीका आमाहरू ।
आफ्ना गाउँमा बस्न नसकेर भएको घर खेत वस्तु भाउ छोडेर विस्थापित भएर अर्काको अन्न पानीमा बाँच्नु परेको तैपनि लुटियो सबै । एकै परिवारमा दर्जनभन्दा बढी बालबालिका त्यसमा पनि आधा अर्ध नग्न, आधा सर्वांग नांगा । रोएका छन् फकाइ नसक्नु गरी ।
सान्त्वना दिनलाई न भाषा मिल्छ न सान्त्वना दिन सक्ने विषय थियो त्यो । नजानिँदै रोएको थियो मन आफ्नै पनि ।
आठ बजे मात्र साँझ पर्ने त्यो ठाउँ । सायद घडीले आठ हानेको थियो । धेरैबेर पीडा हेरेर बस्न सकिनँ । न त चिन्ता नगर्नुस् तुरुन्तै तपाइहरूको वासको व्यवस्था गर्छौँ भन्ने हैसियत र जिम्मेवारी नै थियो मेरो ।
फर्किएँ क्याम्पतिर ।
निकै दिनसम्म सताइरह्यो त्यो घटनाले । त्यतातिर फर्केर हेर्न पनि मन लागेन ।
केही दिन पछि उस्तै सेता प्लास्टिकका झुप्रा देखिन थालेका थिए ।
जीवनहरू निरन्तर चल्न थालेका थिए । भेटिन्थे तिनै आँसुसरीका अनुहारहरू जो आज हाँसेरै हिँडिरहेका छन् ।
आगोले जलेका मनहरू मुस्कुराएको थियो तिनको । तर पनि घामले जलेको मेरो मन मुस्कुराउन सकेको थिएन । आधा तिनको पीर आधा आफ्नै चिन्ता ।