काठमाडौं । मलेसिया रोजगारीका लागि २५ नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची सार्वजनिक भएको विषयमा आफ्नो नाम र आफू सम्बद्ध इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिलाई कथित ‘सिण्डिकेट’सँग जोडेर समाचार तथा टिप्पणी सार्वजनिक गरिएको भन्दै कम्पनीका सञ्चालक वाई.बी. राईले आपत्ति जनाएका छन् ।

राईले विज्ञप्तिमार्फत मलेसियाको एफडब्लुसीएमएस (FWCMS) पोर्टलअन्तर्गत ‘Registered Recruitment Agencies’ शीर्षकमा प्रकाशित २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची निर्माण वा त्यससँग सम्बन्धित भनिएको प्रक्रियामा आफू र आफ्नो कम्पनीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

उनले आफू तथा इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि उक्त सूची तयार गर्ने वा त्यसमा कम्पनीको नाम समावेश गर्ने प्रक्रियामा कुनै पनि रूपमा संलग्न नरहेको र यस विषयमा आफूहरू पूर्णतः अनभिज्ञ रहेको दाबी गरेका छन् । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रचारित सामग्रीका आधारमा कम्पनीको नाम जोडिनु दुःखद र खेदजनक भएको उनको भनाइ छ ।

राईका अनुसार इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले नेपाल सरकारको नीति, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय श्रम तथा आप्रवासनका स्थापित मापदण्डअनुसार स्वच्छ, न्यायोचित तथा नैतिक भर्ना प्रक्रिया (Ethical Recruitment) मार्फत व्यवसाय सञ्चालन गर्दै आएको छ । नेपाली श्रमिकलाई सुरक्षित, सम्मानजनक र मर्यादित वैदेशिक रोजगारीमा पठाउनु कम्पनीको मूल उद्देश्य रहेको उनले बताएका छन् ।

उनले इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)द्वारा सञ्चालित इन्टरनेशनल रिक्रुटमेन्ट इन्टेग्रिटी सिस्टम (IRIS) अन्तर्गत प्रमाणित नेपालको पहिलो म्यानपावर कम्पनी भएको दाबीसमेत गरेका छन् । कम्पनीले शून्य लागत तथा न्यायोचित र नैतिक भर्ना प्रक्रियामार्फत नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउँदै आएको राईको भनाइ छ ।

विगत करिब दुई दशकदेखि मलेसियालगायत विभिन्न मुलुकमा नेपाली श्रमिक पठाउँदै आएको कम्पनीले हालसम्म २० हजारभन्दा बढी नेपाली श्रमिकलाई स्वच्छ, पारदर्शी र नैतिक भर्ना प्रक्रियामार्फत निःशुल्क वैदेशिक रोजगारीमा पठाइसकेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले सन् २०१६ देखि न्यायोचित तथा नैतिक भर्ना प्रक्रियालाई व्यवस्थित रूपमा अवलम्बन गर्दै आएको र सन् २०१८ देखि श्रम आप्रवासनका क्रममा लाग्ने खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सिद्धान्तमा आधारित श्रमिकमैत्री भर्ना प्रक्रिया अपनाउँदै आएको पनि राईले बताएका छन् ।

कुनै ठोस प्रमाण र सत्यतथ्यबिना आफ्नो नाम कथित ‘सिण्डिकेट’सँग जोडिएको भन्दै राईले यस्ता आरोप तथा भ्रामक सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष्ठा र इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टको दुई दशक लामो व्यावसायिक साखमा गम्भीर आघात पुगेको बताएका छन् ।

यस विषयमा आवश्यक तथ्य तथा प्रमाण संकलन गरी प्रचलित कानुनबमोजिम उपलब्ध कानुनी उपचारका विषयमा समेत परामर्श र छलफल भइरहेको उनले जानकारी दिएका छन् । यद्यपि, आफ्नो पहिलो आग्रह सत्यतथ्यका आधारमा मात्र सूचना सम्प्रेषण गर्नुपर्ने रहेको राईले बताएका छन् ।

राईले अपुष्ट, अधुरो तथा एकपक्षीय सूचनाका आधारमा कम्पनी तथा कम्पनीसँग सम्बद्ध व्यक्तिको नाम जोडेर समाचार, सूचना, टिप्पणी वा धारणा सार्वजनिक नगर्न सञ्चारमाध्यम, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला पक्षसँग आग्रह गरेका छन् । कुनै जिज्ञासा वा अन्योल भएमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरी आधिकारिक तथ्य बुझ्नसमेत उनले अनुरोध गरेका छन् ।

इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले आगामी दिनमा पनि नेपाली श्रमिकको हित, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी, शून्य लागतको सिद्धान्त, स्वच्छ एवं नैतिक भर्ना प्रक्रिया तथा निष्पक्ष र पारदर्शी वैदेशिक रोजगार व्यवसायप्रति आफ्नो प्रतिबद्धता कायम राख्ने राईले बताएका छन् ।