काठमाडौं। प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका अध्यक्ष जनक रावलले यसपटकको अधिवेशनलाई थप समावेशी र एकतामुखी बनाउन विगतमा मञ्चको कारबाहीमा परेका सदस्य संस्थाहरूलाई समेत सहभागी हुने बाटो खुला गरिएको बताएका छन् ।
आगामी साउन २९ गते हुने मञ्चको साधारणसभा तथा अधिवेशनको तयारीका क्रममा अध्यक्ष रावलले संगठनभित्रको एकता, सहकार्य र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै सबै सदस्य संस्थाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिए ।
‘विगतमा विभिन्न कारणले कारबाहीमा परेका संस्थाहरूले आवश्यक प्रक्रिया पूरा गरी तोकिएका कागजात बुझाएमा अधिवेशनमा प्रतिनिधित्व गर्न सक्नेछन्’ अध्यक्ष रावलले भने ‘यसले संगठनभित्र रहेका सबै व्यवसायीलाई एउटै छातामुनि ल्याई साझा हितका विषयमा छलफल गर्ने वातावरण तयार हुने विश्वास गरेका छौ ।’
अध्यक्ष रावलले समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्न सबै सदस्य संस्थालाई आग्रह गर्दै यसपटकको अधिवेशनलाई व्यवसायीहरूको साझा हित, एकता र संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए । उनले कारबाहीमा परेका संस्थाहरूलाई समेत अवसर प्रदान गरिएको निर्णयले संगठनभित्र मेलमिलाप र सहकार्यको नयाँ सन्देश दिने विश्वास व्यक्त गरे ।
पछिल्लो समय वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा सबैभन्दा बढी सक्रिय देखिएको मञ्चले व्यवसायिक हकहित, नीतिगत पहलकदमीका अलवा सामाजिक कार्यमा पनि उत्तिकै अग्रसरता देखाउदै आएको छ । विशेषगरी अध्यक्ष जनक रावल नेतृत्वको मञ्चले २ पटक नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आफ्नो उम्मेदवारलाई नेतृत्व दिलाउन सफलकाले तथा मञ्चप्रति व्यवसायीहरुको बढदो आकर्षणका कारण यस पटकको अधिवेशनले थप अर्थ राख्ने देखिन्छ ।








