नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा नेतृत्व चयनको सरगर्मी बढेको छ। यही जेठ २४ गते हुने निर्वाचनका लागि व्यवसायीहरूको स्वतन्त्र समूहले अध्यक्ष पदका उम्मेदवारसहित आफ्नो प्यानल घोषणा गर्ने भएको छ।
स्वतन्त्र व्यवसायीहरूको तर्फबाट संघको अध्यक्ष पदमा एकता समाज सामाखुशीका अध्यक्ष तथा संघका पुर्व उपाध्यक्ष हरिबहादुर पाण्डेको नेतृत्वमा प्यानल घोषणा हुन लागेको हो। प्यानलको औपचारिक घोषणा आज साँझ सुकेधारास्थित ल्याविस गार्डेनमा आयोजना हुने कार्यक्रममार्फत गरिने जनाइएको छ।
अध्यक्षका उम्मेदवार पाण्डेले वैदेशिक रोजगार क्षेत्रका व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखेर आफूहरू निर्वाचन मैदानमा उत्रिएको बताएका छन्। रोजगार मञ्चसँग कुराकानी गर्दै उनले विगतमा संघ व्यवसायीको पेशागत हितभन्दा राजनीतिक प्रभाव र भातृ संगठनहरूको स्वार्थबाट बढी प्रभावित भएको आरोप लगाए।
“संघ व्यवसायीहरूको साझा संस्था हो। तर विगतमा नेतृत्वमा पुगेकाहरू व्यवसायीको पक्षमा भन्दा राजनीतिक संगठनहरूको प्रभावमा बढी देखिए। त्यसले व्यवसायीका वास्तविक समस्या ओझेलमा परे। अब हामी व्यवसायीको हकहित, व्यवसायको संरक्षण र संस्थागत सुधारलाई केन्द्रमा राखेर अगाडि बढ्न चाहन्छौं,” पाण्डेले भने।
उनका अनुसार संघलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै व्यवसायीहरूको पेशागत अधिकार, श्रम गन्तव्य मुलुकसँगको सम्बन्ध विस्तार, मागपत्र प्रमाणीकरण प्रक्रियाको संस्थागत व्यवस्थापन, व्यवसायीमैत्री नीति निर्माण तथा संघको गरिमा पुनःस्थापना मुख्य एजेण्डा रहनेछन्।
पाण्डेले आफू हाल कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको उल्लेख गर्दै स्वतन्त्र सोच भएका व्यवसायीहरूलाई एकताबद्ध गरेर संघलाई नयाँ दिशातर्फ लैजाने लक्ष्य रहेको बताए। “हामी संघमा पुगेपछि व्यवसायीको हितबाहेक अरू कुनै स्वार्थ बोकेर जाने छैनौं। संघलाई व्यवसायीको साझा घरका रूपमा स्थापित गर्ने प्रतिबद्धता छ,” उनले बताए।
स्वतन्त्र व्यवसायीहरूको समूह एकता समिति, गणतान्त्रिक व्यवसायी तथा एकीकृत व्यवसायी समूहबीचको सहकार्यबाट निर्माण भएको बताइएको छ। समूहले संघमा राजनीतिक ध्रुवीकरणको अन्त्य गर्दै व्यवसायिक एकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ।
हालसम्म तय भएको प्यानलअनुसार अध्यक्षमा हरिबहादुर पाण्डे, प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा जब्बर अली मियाँ, महासचिवमा नूर मोहम्मद मियाँ तथा कोषाध्यक्षमा बिनिता कटुवाल रहने भएका छन्। द्वितीय उपाध्यक्ष, सचिव तथा सदस्य पदका उम्मेदवारहरूको टुंगो भने लाग्न बाँकी रहेको बताइएको छ।
उता संघको नेतृत्वका लागि अन्य समूहहरू पनि सक्रिय भएका छन्। लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको तर्फबाट एक समूह तथा प्रगतिशील वैदेशिक रोजगार मञ्चको तर्फबाट अर्को समूह निर्वाचन मैदानमा आउने तयारीमा रहेका छन्।
विशेष परिस्थितिमा हुन लागेको संघको यो निर्वाचनलाई व्यवसायीहरूले संघको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। व्यवसायीहरूबीच सक्षम, सशक्त र व्यवसायमैत्री नेतृत्व चयन हुने अपेक्षा गरिएको छ। संघको आगामी नेतृत्वले वैदेशिक रोजगार क्षेत्रका चुनौती सम्बोधन गर्दै व्यवसायीको पेशागत अधिकार र संस्थागत मर्यादा जोगाउन सक्ने नेतृत्व दिनुपर्ने आवाज व्यवसायी वृत्तमा उठ्न थालेको छ।








