नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी विशेष साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा नेतृत्व चयनको सरगर्मी बढेको छ। यही क्रममा वैदेशिक रोजगार क्षेत्रमा लामो अनुभव हासिल गरेका अक्सन इन्टरनेशनल प्रालिका अध्यक्ष इश्वर सापकोटाले संघको तृतीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
करिब १८ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा सक्रिय सापकोटा व्यवसायीमाझ परिचित र लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। गत निर्वाचनमा स्वतन्त्र रूपमा सचिव पदमा उम्मेदवारी दिएका उनले व्यवसायीहरूको उल्लेख्य समर्थन प्राप्त गरेका थिए।
सापकोटाले संघको नेतृत्वमा सक्षम, स्वतन्त्र र व्यवसायीको हितप्रति प्रतिबद्ध व्यक्तिहरू आउनुपर्ने आवश्यकता औंल्याउँदै तृतीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। संघमा देखिएको विशेष परिस्थितिका कारण नयाँ नेतृत्व चयनका लागि मध्यावधि निर्वाचन हुन लागेको सन्दर्भमा आफू व्यवसायीहरूको हकहित संरक्षण गर्ने उद्देश्यसहित मैदानमा उत्रिएको उनको भनाइ छ।
उनले संघको नेतृत्व व्यवसायीका वास्तविक समस्या समाधानमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै वैदेशिक रोजगार क्षेत्रलाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताए। व्यवसायीहरूको विश्वास जित्दै संघलाई थप सशक्त र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न आफूले भूमिका खेल्ने उनको प्रतिबद्धता छ।
सापकोटाले निर्वाचित भए वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्ने, कुनै पनि प्रकारको सिन्डिकेट प्रणाली लागू हुन नदिने, नयाँ तथा आकर्षक श्रम गन्तव्यको खोजी गर्ने, जापान तथा युरोपलगायतका देशमा रोजगार मेला आयोजना गर्न पहल गर्ने, संस्थागत वैदेशिक रोजगार प्रवर्द्धन गर्ने तथा स्वतन्त्र रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूको हकहित संरक्षणमा विशेष ध्यान दिने बताएका छन्।
जापानलाई प्रमुख श्रम गन्तव्य बनाएर नेपाली दक्ष जनशक्ति पठाउँदै आएका सापकोटाले निःशुल्क जापानी भाषा प्रशिक्षणमार्फत हालसम्म करिब दुई हजार नेपाली युवालाई जापान पठाइसकेको दाबी गरेका छन्। उनी संघका पूर्वअध्यक्ष स्वर्गीय विष्णु गैरे आबद्ध अक्सन इन्टरनेशनल प्रालिका व्यवसायिक साझेदारसमेत हुन्।
व्यवसायीहरूको आफ्नै प्रशासनिक भवन हुनुपर्ने अवधारणाका पक्षधर सापकोटाले संघको भवन खरिद अभियानमा उल्लेखनीय आर्थिक योगदान दिएका थिए। उनले भवन खरिदका लागि ११ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको संघका व्यवसायीहरूले स्मरण गर्दै उनको योगदानको उच्च मूल्यांकन गरेका छन्।
संघको आगामी नेतृत्व चयनका लागि विभिन्न समूह र उम्मेदवारबीच आन्तरिक छलफल तथा सहमतिका प्रयास जारी रहेका बेला सापकोटाको उम्मेदवारी घोषणाले व्यवसायी वृत्तमा थप चासो र चर्चा सिर्जना गरेको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा तथा निर्वाचन आगामी आइतबार हुने तय भएको छ, जहाँ नयाँ नेतृत्व चयनका लागि व्यवसायीहरू मतदानमा सहभागी हुनेछन्।








