काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विशेष साधारणसभा तथा निर्वाचनको तयारीलाई तीव्र बनाएको जनाएको छ। संघको कार्यालयमा आज एक पत्रकार सम्मेलनमार्फत प्रवन्ध समितिले संघको विधानअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन बमोजिम विशेष साधारणसभा र निर्वाचन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो।

संघका बहुमत पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएपछि संघको सल्लाहकार समितिले विधानबमोजिम कार्यसमिति स्वतः विघटन भएको निष्कर्ष निकाल्दै विशेष साधारणसभा र निर्वाचनको लागि प्रवन्ध समिति गठन गरी जिल्ला प्रशासनलाई जानकारी गराएको थियो । प्रशासनले प्रवन्ध समितिमार्फत साभारणसभा र निर्वाचन गर्न निर्देशन दिएपछि समितिले आफ्नो काम सुरु गरेको थियो । प्रबन्ध समितिमा संघका पूर्वअध्यक्षद्धय बिमल ढकाल र राजेन्द्र भण्डारी तथा धनलाल जैसी, बिनोदजङ केसी, मधुकर रिजाल, जनक रावल, सोमबहादुर लो तामाङ रहेका छन ।

प्रवन्ध समितिका अनुसार हालै पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, सल्लाहकार तथा विभिन्न घटक संस्थाका प्रतिनिधिहरूको सहभागितामा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग मन्त्रालयमा महत्वपूर्ण छलफल सम्पन्न भएको थियो। छलफलमा वैदेशिक रोजगार व्यवसायसँग प्रत्यक्ष सम्बन्धित सेवा शुल्क, मागपत्र प्रमाणीकरण, प्रक्रियागत सरलीकरण, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणलगायत विषयमा गम्भीर रूपमा छलफल गरिएको थियो।

प्रवन्ध समितिका सदस्य राजेन्द्र भण्डारीले मन्त्री यादवबाट प्राप्त सकारात्मक धारणा र प्रतिबद्धताले व्यवसायीहरूको जायज माग सम्बोधन हुने तथा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक नीतिगत सुधार अघि बढ्ने विश्वास व्यक्त गरे । साथै, वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान र व्यवसायीहरूको हकहित संरक्षणका विषयमा मन्त्रीले देखाएको सकारात्मक सोच, चासो र प्रतिबद्धताप्रति संघको प्रवन्ध समितिले धन्यवाद तथा सम्मान व्यक्त गरे ।

भण्डारीले आगामी जेठ २४ गते विशेष साधारणसभा सहित निर्वाचन सम्पन्न गर्ने कार्यक्रम तय भइसकेको जानकारी दिँदै त्यसका लागि प्रतिनिधि संकलनको कार्य जारी रहेको जनाए । हाल संघ विशेष तथा बाध्यात्मक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सम्पूर्ण व्यवसायीलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन र संघलाई स्थायित्व तथा सक्षम नेतृत्व प्रदान गर्न सकारात्मक भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

प्रवन्ध समितिले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित समसामयिक विषयवस्तुहरूलाई सार्वजनिक गर्न सहयोग पुर्‍याउने सञ्चारकर्मी तथा पत्रकारहरूप्रति पनि संघले आभार व्यक्त गरेको छ।