युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा थुप्रिएका करिब ४३ हजार उजुरी तथा मुद्दालाई टुंग्याएर शून्यमा झार्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को श्रम तथा उपभोक्ता हित विभागले आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले वैदेशिक रोजगार क्षेत्रलाई प्रभाव, पहुँच र बिचौलियाको नियन्त्रणबाट मुक्त गराउने प्रतिबद्धता व्यक्त गरे।
‘वैदेशिक रोजगारको नाममा अझै ४३ हजार मुद्दा छन्। धेरै नेपाली ठगिएका छन्। अनुसन्धान अधिकृत परिचालन गरेर सबै मुद्दा टुंग्याउनुपर्छ,’ मन्त्री यादवले भने, ‘संस्थागत उजुरी छन् भने छिटो समाधान गरियोस्, नत्र दोषी भेटिए कारबाही हुन्छ। यी सबै मुद्दा जिरोमा पुर्याउने मेरो लक्ष्य हो।’
आफू विदेशमा इन्जिनियरिङ अध्ययन गरेको व्यक्ति भएको र राजनीति तथा वैदेशिक रोजगार क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेको उल्लेख गर्दै उनले सुधारको स्पष्ट कार्ययोजनासहित मन्त्रालयको जिम्मेवारी सम्हालेको बताए।
‘म इन्जिनियरिङ पढेको मान्छे हुँ। विदेशमा अध्ययन गरेर नेपाल फर्किएँ, चुनाव लडेँ र जितेपछि मन्त्रीको जिम्मेवारीमा आएको छु। म राजनीतिक व्यक्ति पनि होइन। यो क्षेत्रका व्यवसायी, मेडिकल सञ्चालक वा विज्ञलाई पनि चिन्दिनँ,’ उनले भने, ‘प्रधानमन्त्रीले यो क्षेत्र सुधार्ने जिम्मेवारीसहित छ महिनाको प्रोजेक्ट दिनुभएको छ। त्यसैअनुसार काम गरिरहेको छु। सबैको साथ र सहयोग आवश्यक छ।’
मन्त्री यादवले वैदेशिक रोजगारमा सरकार, व्यवसायी र श्रमिक मात्र नभई रोजगारदाता कम्पनी पनि उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे। नेपाली श्रमिकलाई ठगी गर्ने, सम्झौताअनुसार सेवा–सुविधा नदिने रोजगारदाता कम्पनीविरुद्ध कडा नीति अपनाइने उनको भनाइ थियो।
‘केही रोजगारदाताले नेपाली श्रमिकलाई ठगी गरिरहेका छन्। तोकिएअनुसारको सुविधा दिँदैनन्। यस्ता कम्पनीमा नेपाली श्रमिक नपठाउने रणनीति लिन्छौं,’ उनले भने।
युरोपमा संस्थागत श्रम स्वीकृति प्रक्रिया अवरुद्ध भएको विषयमा आफूलाई स्पष्ट जानकारी नभएको बताउँदै मन्त्री यादवले संस्थागत रूपमा युरोपको श्रम बजार खुलाउनुपर्ने आवश्यकता औंल्याए। यसका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिँदै उनले आवश्यक परे श्रम मन्त्रालयले आफ्नै कूटनीतिक संयन्त्र विकास गर्ने संकेत गरे।
दूतावासबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई पनि पुनरावलोकन गरिरहेको जानकारी दिँदै मन्त्री यादवले एकपटक सूचीकृत भइसकेका रोजगारदाता कम्पनीका फाइल बारम्बार दूतावासमा लैजानुपर्ने बाध्यता अन्त्य गरिने बताए।
‘दूतावासले एकपटक सूचीकृत गरेपछि हरेक पटक फाइल लिएर धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ। पहिचान भइसकेपछि प्रमाणीकरण स्वचालित हुनुपर्छ,’ उनले भने, ‘तीन–तीन महिनासम्म शून्य लागतका फाइल दूतावासमा रोकिएका छन्। व्यक्तिगत स्वार्थ, प्रभाव र पहुँचबाट यो क्षेत्रलाई मुक्त गराउँछौं।’
हाल मलेसियामा करिब ६ हजार र संयुक्त अरब इमिरेट्स (यूएई)मा १२ हजार रोजगारदाता कम्पनी सूचीकृत रहेको जानकारी दिँदै उनले श्रमिक माग प्रक्रियालाई छिटो, सरल र पारदर्शी बनाउने तयारी भइरहेको बताए।
कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ र निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायीका समस्या तथा माग प्रस्तुत गरेका थिए। त्यसैगरी वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगार क्षेत्रको विगत, वर्तमान अवस्था र सुधारका उपायबारे धारणा राखेका थिए।
‘फ्रि भिसा, फ्रि टिकट’ शब्द नै गलत छ, यो व्यवस्था छिट्टै रिभाइज गर्छौ : मन्त्री यादव








