युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा जाने कामदारका लागि सेवा शुल्क तोकिने बताएका छन । मन्त्रालयमा आज आयोजित ‘सुरक्षित वैदेशिक रोजगार’ विषयक अन्तक्रियामा बोल्दै उनले आफनै कार्यकालमा यो व्यवस्था लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।
कामदार विदेश पुग्दासम्म एक रुपैया मात्र खर्च भयो भने पनि त्यो इथिकल रिक्रुटमेन्ट अन्तर्गत नपर्ने भन्दै मन्त्री यादवले त्यो बेला सरकारले इथिकल रिक्रुटमेन्ट लागू गराउन खोजेको थियो भने फ्रि भिसा, फ्रि टिकट भन्ने शब्द नै गलत रहेको बताए ।
‘अहिलेको सन्दर्भमा फ्री भिसा फ्रि टिकटको व्यवस्थालाई रिभाइज गर्न हामी तयार छौ, यसका लागि बैज्ञानिक शुल्क निर्धारण गर्न हामी सरोकारवालाहरुसँग छलफल गर्नेछौ र यो विषयलाई पुर्नबिचार गर्ने छौ’ मन्त्री यादवले भने ‘तथापी जसले इथिकल रिक्रुटमेन्ट गरिरहेका छन ती व्यवसायीहरुलाई सरकारको तर्फबाट प्रोत्साहन गरिने छ ।’
साथै सरकारले युरोपका विभिन्न देशहरूमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई संस्थागत रूपमा खुला गर्ने तयारी अघि बढाएको पनि मन्त्री यादवले बताए । उनले भने ‘व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाँदा नेपाली श्रमिकहरू ठगिने क्रम बढेकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले संस्थागत रूपमै वैदेशिक रोजगारी खोल्ने तयारी गरेको हो ।’ यसका लागि परराष्ट्र मन्त्रालयले मागपत्र प्रमाणीकरण नगरिदिएमा युरोपका देशहरूमा श्रम मन्त्रालयकै उपस्थिति रहने गरी आवश्यक कदम चाल्ने विकल्पमा समेत गृहकार्य भइरहेको उनको भनाई छ।
यस्तै उनले वैदेशिक रोजगारीका सबै प्रक्रिया डिजिटलाइजेशन गर्ने, ५ हजारभन्दा बढी श्रमिक रहेको मुलुकमा राज्यको उपस्थितीका लागि पहल गरिने तथा श्रमिकको सुरक्षाका लागि अधिकतम प्रयास गरिने बताए ।








