काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई विशेष साधारणसभा आह्वान गरी संघको विधानअनुसार प्रक्रिया अगाडि बढाउन स्पष्ट निर्देशन दिएको छ।

प्रशासनले जेठ १६ गते संघलाई पठाएको पत्रमार्फत यसअघि जारी गरिएको निर्देशन पुनः स्मरण गराउँदै संघको वर्तमान कार्यसमिति स्वतः विघटन भएको निष्कर्षसहित विधानबमोजिमको प्रक्रिया अघि बढाउन भनेको हो।

पत्रअनुसार संघको कार्यसमितिका बहुमत पदाधिकारीले राजीनामा दिएको सम्बन्धी पत्र प्रशासन कार्यालयमा प्राप्त भएको थियो। प्राप्त विवरणअनुसार राजीनामा दिएका तथा राजीनामा गर्ने पदाधिकारीको संख्या संघको विधानमा व्यवस्था भएअनुसार दुई तिहाइ पुगेको देखिएकाले वर्तमान कार्यसमिति स्वतः विघटन भएको प्रशासनको ठहर छ।

प्रशासनले संघको विधानको दफा २६ को ४ (ख) अनुसार प्रवन्ध समिति गठन गर्ने कार्य सल्लाहकार समितिको निर्णयबाट भएको भए पनि त्यसलाई विधानसम्मत रूपमा कार्यान्वयन गर्न विशेष साधारणसभा आह्वान गरी आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

पत्रमा प्रवन्ध समितिले विशेष साधारणसभा बोलाई विधानमा रहेको व्यवस्था कार्यान्वयन गर्दै संघको गतिविधि अघि बढाउनुपर्ने उल्लेख गरिएको छ। साथै, यसअघि सुरु भइसकेका प्रक्रियालाई निरन्तरता दिन तथा प्रवन्ध समितिले गरेका निर्णय र गतिविधिबारे जिल्ला प्रशासन कार्यालयलाई नियमित रूपमा लिखित जानकारी गराउन पनि भनिएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी निर्देशनमा उक्त प्रक्रियामा कसैले बाधा–व्यवधान सिर्जना नगर्न चेतावनी दिँदै निर्देशनविपरीत गतिविधि भए तत्काल प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ।

प्रशासनको यो पत्रसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको नेतृत्व विवाद र संगठनात्मक अन्योलका बीच विधानसम्मत ढंगबाट विशेष साधारणसभा र आगामी नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

विशेष साधारणसभा आह्वान गर्न वैदेशिक रोजगार व्यवसायी संघलाई प्रशासनको स्पष्ट निर्देशन