काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति (Re-entry) प्रक्रिया थप सहज र व्यवस्थित बनाउने उद्देश्यले सरकारले स्वचालित पुनः श्रम स्वीकृति प्रणाली लागू गरेको छ।

वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत सुशासन सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअनुसार पुनः श्रम स्वीकृतिलाई पूर्ण रूपमा स्वचालित बनाइएको जनाएको हो।

विभागका अनुसार यसअघि श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले सोही देश तथा कम्पनीका लागि पुनः श्रम स्वीकृति लिन चाहेमा तोकिएका शर्तहरू पूरा गरेको अवस्थामा अब स्वचालित प्रणालीमार्फत पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्।

विभागले पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा तोकिएका शर्तहरू अनिवार्य रूपमा पालना गर्न तथा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा सही विवरण प्रविष्ट गर्न आग्रह गरेको छ। गलत विवरण भरेर वा आवश्यक कागजात नपेस गरी आवेदन दिएमा उत्पन्न हुने त्रुटिको सम्पूर्ण जिम्मेवारी स्वयं सेवाग्राहीले नै वहन गर्नुपर्ने विभागले स्पष्ट पारेको छ।

विभागले स्वचालित प्रणाली लागू भएपछि पुनः श्रम स्वीकृति प्रक्रियामा लाग्ने समय घट्नुका साथै सेवाग्राहीलाई थप सहजता हुने विश्वास व्यक्त गरेको छ।

वैदेशिक रोजगार : स्वचालित पुनः श्रम स्वीकृति प्रणाली लागू, अब श्रमिकले आफैं लिन सक्ने