काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीको शिलशिलामा इराक पुगेका र त्यहाँको आधिकारिक भिसा तथा रेसिडेन्ट कार्ड प्राप्त गरेका नेपाली नागरिकलाई श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । यससँगै इराकमा कार्यरत नेपाली कामदारले लामो समयदेखि भोग्दै आएको कानुनी जटिलतामा केही सहजता आउने अपेक्षा गरिएको छ ।

आज बसेको मन्त्रिपरिषदको निर्णयअनुसार वैदेशिक रोजगारीका क्रममा इराक गई त्यहाँको सम्बन्धित निकायबाट जारी भएको वैध रेसिडेन्ट कार्ड तथा आधिकारिक कामदार भिसा प्राप्त गरेका नेपाली नागरिकहरूले नेपाल आएको समयमा सो भिसा पेश गरी श्रम स्वीकृति लिन सक्नेछन् ।

यसअघि इराकलाई प्रतिबन्धित श्रम गन्तव्यको सूचीमा राखिएकाले त्यहाँ कार्यरत नेपालीले श्रम स्वीकृति नपाउँदा आवत–जावत तथा कानुनी प्रक्रियामा समस्या झेल्दै आएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यो व्यवस्था इराकमा पहिलेदेखि वैध रूपमा बसोबास तथा रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी गरिएको हो । नयाँ कामदार पठाउने निर्णय भने हाललाई लागू नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।

सरोकारवाला निकायका अनुसार यस व्यवस्थाले इराकमा रहेका हजारौँ नेपाली कामदारलाई वैध श्रम स्वीकृतिको पहुँचमा ल्याउने, नेपाल आउँदा–जाँदा कानुनी समस्या कम गर्ने तथा श्रमिकको अधिकार संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

वैदेशिक रोजगारीका क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूले सरकारको यस कदमलाई यथार्थपरक र श्रमिकमैत्री निर्णयका रूपमा स्वागत गरेका छन् । उनीहरूका अनुसार प्रतिबन्धित गन्तव्यमा रहेका तर वैध भिसा भएका श्रमिकलाई श्रम स्वीकृतिको दायरामा ल्याउनु सकारात्मक सुधार हो।

यसका लागि लामो समयदेखि पहल गर्दै आएको गैरआवासीय नेपाली संघ इराकले उक्त निर्णयप्रति सरकारलाई आभार प्रकट गरेको छ ।