नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारीमा कामदार आपुर्ती गर्ने प्रक्रियामा सिण्डिकेटको प्रयास भए संघले निर्णायक कदम चाल्ने बताए ।

संघद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले नेपाल सरकारले रोजगारीका लागि खुल्ला गरेका जुनसुकै मुलुकमा कामदार आपुर्ति प्रक्रियामा एकाधिकारको प्रयास भए त्यसका विरुद्ध आफु प्रतिवद्ध भएर लडने बताए ।

‘नेपाल सरकार यस विषयमा सजक छ भन्ने हामीले विश्वास लिएका छौ, तर विभिन्न बहानामा सिण्डिकेटको प्रयास भइरहे बरु मलेसिया रोजगारीमा कामदार पठाउनै बन्द गर्नेछौ’ अध्यक्ष गुरुङले भने ‘यस कार्यमा संलग्न भएको पाइएमा ती व्यक्तिहरु जतिसुकै शक्तिशाली भएपनि संघले ढालेरै छाडछ ।’

यस्तै संघका प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले मलेसियाले जारी गरेको मापदण्ड भित्र पर्ने मेनपावर संस्थाहरु भित्रै सिण्डिकेटको योजनाकार रहेको हुन सक्ने बताए । ‘हामीले यसअघि पनि व्यवसायीहरुसँग सिण्डिकेट विरुद्ध प्रतिवद्धता मागेका थियौ, ती मापदण्ड पु¥याउन सक्ने मेनपावरहरु पहिचान गरेर उहाँहरुको प्रतिवद्धता आएको छ या छैन हेर्छौ, नआएको भए माग्छौ, जसले इन्कार गर्छ त्यसलाई व्यवसायको क्षेत्रबाटै बहिष्कार गर्छौ’ श्रेष्ठले भने ।

संघका महासचिव महेश कुमार बस्नेतले कुनै पनि सिण्डिकेट वा एकाधिकार संघलाई स्वीकार्य नभएको बताउदै त्यस्ता प्रयासहरु विफल वनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन ।

‘यस विषयमा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा मलेसियास्थित सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै, कुनै पनि सिण्डिकेट वा सीमित माफियाहरुलाई लाभ पुग्ने खालका गतिविधि तथा व्यवस्था स्वीकार गर्न नहुने र पूर्ववत अवस्थामा मागपत्रहरु प्रमाणिकरणमा ढिलाई नगरी काम गर्न गराउनुहुन अनुरोध गदर्छौ’ महासचिव बस्नेतले बताए ।

व्यवसायीहलाई पनि यस्ता कु–कार्यमा नलोभिन र नलाग्न अनुरोध गर्दै बस्नेतले भने ‘भोलिका दिनमा यस्ता गतिविधिमा संलग्न भएको भेटिएमा संघको विधान अनुसार कारवाहीसमेत गरी व्यवसायबाट नै वहिस्कार हुनुपर्ने दिन आउने चेतावनी दिन चाहन्छौ ।’

उनले सिण्डिकेट विरूद्धको लडाइमा संघ सदैव दृढ रहेको बताउदै सम्पूर्ण व्यवसायीहलाई सतर्क रहन, यदि कुनै शंकास्पद जानकारी प्राप्त भएमा तुरून्तै संघलाई जानकारी गराउन र आवश्यक परेमा निर्णायक कदम चाल्न तयार रहन आह्वान समेत गरे ।

मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिएकी थिइन् । सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र कूटनीतिक रुपमा यस विषयको सम्बोधन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्न निर्देशन गरेकी छन् । मलेसिया धेरै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गन्तव्यमा पर्छ ।

नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये ९०० वटा मलेसियाकै व्यवसायमा आश्रित छन् ।

मलेसियाको नयाँ मापदण्डले नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्र उक्त मुलुकमा कामदार पठाउन योग्य हुने वैदेशिक रोजगारी व्यवसायीहरुको भनाइ छ ।