२५ वर्ष कुनै संस्थाको लागि केवल समयको संख्या मात्र होइन, संघर्ष, त्याग, श्रम र विश्वासले बुनेको एउटा महत्वपूर्ण यात्रा हो । यही यात्रा पुरा गरेर प्याराडाइज इन्टरनेसनल प्रालिले आफ्नो रजत महोत्सव मनाएको छ ।
एक भब्य कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था प्याराडाइजले आफ्नो रजत महोत्सव मनाउँदै विगतलाई सम्झियो, वर्तमानलाई सम्मान ग¥यो र भविष्यलाई नयाँ संकल्पसहित अघि बढाउने घोषणा ग¥यो ।
सन् २००० को सुरुवाततिर, केवल १० जना कर्मचारी र एउटा सानो स्थानबाट सुरु भएको यो कम्पनी, आज ललितपुरको बखुण्डोलस्थित आफ्नै भवनमा १२० जना कर्मचारीसहित उभिएको छ ।

कम्पनीका अध्यक्ष नवराज केसीले संस्थाको सफलता आफ्नो मात्र नभई प्याराडाइजलाई रोजगारीको ढोका बनाएका हजारौँ युवायुवती र समर्पित कर्मचारीहरूको फल भएको बताएका छन् ।
२५ वर्षको यात्रामा प्याराडाइजले साउदी अरेबिया, कतार, यूएई, कुवेत, ओमान, मलेसिया, जापानलगायत दर्जनौँ मुलुकमा एक लाखभन्दा बढी युवायुवतीलाई रोजगारी दिलाएको छ ।
अध्यक्ष केसी भन्छन्–‘तमाम समस्याका बाबजुद पनि आज देशले जसरी सास फेरिरहेको छ, त्यसको मुख्य कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरूको पसिना हो, हामी गर्वका साथ भन्न सक्छौँ—हामीकै कारण देशको अर्थतन्त्र जोगिएको छ ।’

यो महोत्सव केवल तामझाम र बधाईको मात्र थिएन। यसले दुःखमा रहेका केही परिवारलाई आशाको दीप पनि बाल्यो । प्याराडाइजमार्फत यूएई गएका तर क्यान्सरका कारण घर फर्कनु परेका युवराज चौलागाईं र मानसिक समस्याबाट ग्रस्त हिमाल पौडेललाई कम्पनीले जनही ७५ हजार रुपैयाँ सहयोग ग¥यो ।
२५ वर्षे यात्रामा कम्पनीसँग अभिन्न रूपमा जोडिएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । लामो समयदेखि सेवा गर्दै आएका सुमन पाठक र ब्रजेश केसीलाई जनही १ लाख १ हजार १ सय ११ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरियो ।

साथै करिब अढाइ दर्जन कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो । विशेष सम्मान वरिष्ठ अधिवक्ता तथा कानुनी सल्लाहकार देवराज कटुवाललाई दिइयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रलाई सहज वातावरण उपलब्ध गराउन सरकारसँग आग्रह गरे । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले भने, “२५ वर्षमा एक लाखभन्दा बढी युवायुवतीलाई रोजगारीमा पठाएर प्याराडाइजले देशलाई नै गुन लगाएको छ।”
त्यस्तै, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ, पूर्वअध्यक्षहरू दिलप्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, रोहन गुरुङ लगायतले शुभकामना व्यक्त गर्दै प्याराडाइजलाई वैदेशिक रोजगारको अनुकरणीय संस्था भन्दै सफलताको कामना गरे ।
प्याराडाइजको योगदान केवल वैदेशिक रोजगारीमै सीमित छैन । २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी, बाढी–पहिरो जस्ता दैवी प्रकोपमा राहत वितरणदेखि, युद्धग्रस्त लिबियाबाट करिब १८ सय नेपालीलाई उद्धार गर्नेसम्मको यात्रामा पनि कम्पनी अगाडि देखिएको छ । यसकै कारण नेपाल सरकारले समेत प्याराडाइजलाई विशेष सम्मान गरेको जनाइएको छ ।

अध्यक्ष केसीले भविष्यप्रतिको संकल्प सुनाउँदै भने, “प्याराडाइज बदलिँदो सूचना–प्रविधिसँग साक्षात्कार गर्दै, मुलुकको कानुनलाई शिरोपर गर्दै नयाँ रोजगारी गन्तव्य खोज्दै देश र जनताको समृद्धिमा अझ शक्तिशाली भएर योगदान गर्नेछ ।”
रजत महोत्सव केवल विगतको मूल्याङ्कन मात्र थिएन, यो संस्थाको संघर्ष, समर्पण र सामाजिक उत्तरदायित्वको गाथा हो । प्याराडाइजको २५ वर्षे यात्रा आज लाखौँ परिवारको जीवनमा आशा र सम्भावनाको पर्याय बनेको छ ।








