मीठो सपना बुनेर वैदेशिक रोजगारीमा विभिन्न देशमा गएकाहरु मध्ये १५ सय १७ जनाले विदेशमा नै जीवन गुमाएका छन् ।

विदेशमा मृत्युवरण गरेका मध्ये एक हजार १८० नेपालीको शव वैदेशिक रोजगार वोर्डले स्वदेशमा ल्याएर परिवारलाई हस्तान्तरण गरेको छ । त्यसमध्ये विदेशमा ७० जनाको शव छन्, जुन स्वदेश ल्याउन प्रकृयामा नै रहेका छन् ।

वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्षको उपलब्धी सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार भेटघाटमा कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वोर्डले अपेक्षा गरेभन्दा बढि नेपाली विदेशी भूमीमा ज्यान गुमाउन पुगेको बताए ।

विदेशबाट शव ल्याउने सिलसिला अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको भन्दै उप्रेतीले शवलाई सम्बन्धित परिवारसम्म पुर्याउन थप शव वाहन (एम्बुलेन्स) को आवश्यकता रहेको औल्याउँदै त्यसका निम्ति बजेट विनियोजित गरिएको बताए । ‘पुराना शव वाहनको सट्टा दुई नयाँ विद्युतीय शववाहन (एम्बुलेन्स) खरिद गर्ने योजना बनाएका छौं ’, उनले भने ।

विदेशबाट शव र बिरामी लास ल्याएको विवरण पेश गर्दा आफूहरु दुःखी भएको र आगामी आर्थिक वर्षमा उक्त तथ्यांकमा कमी आउने लक्ष्य राखिएको उनले बताए । उनी भन्छन्–‘धेरै शव ल्याएर हामी प्रगति भयो भन्न सक्दैनौ, अव घटाउन तिर सबै लाग्नुपर्छ ।’

वोर्डले पूर्वप्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन ड्राफ्ट तयार गरेको र त्यसमा सुझावका निम्ति आग्रहसमेत गरेका छन् ।गन्तव्य देशमध्ये साउदी अरबको कानुनी प्रक्रिया जटिल भएकाले शव ल्याउन ढिलाइ हुने उनले बताए ।

बोर्डले १२ सय ५० मृतकका परिवारलाई गत आर्थिक वर्षमा सहयोग रकम हस्तान्तरण गरेको डा. उप्रेतीले बताए । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा अंगभंग तथा अस्वस्थ भएका ६९८ कामदारलाई आर्थिक सहयोग गरिएको उनले बताए । त्यस्तै, कामदारका २७५ परिवारलाई स्वास्थ्य उपचार सहयोग गरिएको उनले उल्लेख गरे । वोर्डले वैदेशिक रोजगारीमा रहेका नागरिकका ९९० जना सन्ततिलाई छात्रवृत्ति दिएको छ ।

वोर्डले संघीय र प्रदेश सांसदका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यससँगै वैदेशिक रोजगारीबाट फर्केर उद्यममा संलग्न भई सफलता हासिल गरेका नागरिकलाई लक्षित गर्दै ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम आयोजना गरिने डा. उप्रेतीले बताए ।