नेपाल बैदेशिक रोजगार ब्यावसायी नेवा : समाजको छैटौं बार्षिक साधारण सभाले पुनः किसन प्रधानको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको काठमाडौंमा शुक्रवार भएको साधारण सभाले प्रधानको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको प्रथम उपाध्यक्षमा बिजयराज श्रेष्ठ, दितिय उपाध्यक्षमा दिनेश श्रेष्ठ, तृतिय उपाध्यक्षमा प्रबिण श्रेष्ठ र महासचिवमा देबेन्द्र नारायण श्रेष्ठ चयन भएका छन् । त्यसैगरी समाजको सचिव पदमा गगन श्रेष्ठ, कोषाध्यक्ष पदमा चन्द्रकुमार श्रेष्ठ र सदस्यहरुमा मोति लक्ष्मी श्रेष्ठ, कृष्ण भक्त श्रेष्ठ, ज्यानभिस श्रेष्ठ जस्मिन’, अमित कुमार श्रेष्ठ, विध्या बज्राचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।
समाजको साधारणसभाको उद्घाटन गर्दै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले व्यावसायीको व्यावसायिक धर्म भन्दा अन्य विषयमा केन्द्रित नहुन र वैदेशिक रोजगारमा जाने श्रमिकको हक हितलाई समेत विशेष ध्यान दिन सुझाव दिएका छन् ।

रोजगारीको लागि विदेश गएका नेपालीहरु विगत १६ वर्षमा १४ हजारले ज्यान गुमाउनु गम्भिर विषय भएको उल्लेख गर्दै श्रम मन्त्री भण्डारीले श्रम र पसिना बगाउन पुगेका नेपालीहरु जीवन गुमाउनु दुर्भाग्य भएको र अझ वैदेशिक रोजगारका नाममा दिनहु सयौं व्यक्तिलाई ठग्ने कार्य कदापी स्वीकार्य नहुने बताए ।
वैदेशिक रोजगार व्यावासय सम्मानजनक हुन सक्ने अवस्था रहदा रहदै व्यावसायीले आफू व्यावसायी भनेर सम्मानपूर्वक भन्न नसक्ने अवस्था आएको बताए ।

मन्त्री भण्डारीले आन्तरिक होस या वैदेशिक रोजगारका समग्र क्षेत्रमा सुधारको लागी मन्त्रालयले आफ्नो कार्ययोजना अघि बढाइसकेको अवस्थामा सबै सरोकारवालाहरुले भावि सन्ततीको लागि एक ठाउँमा बसेर इमान्दारीपूर्वक कार्य गर्न जरुरी रहेको बताए ।
समाजको बार्षिक साधारणसभामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा सफल कार्यकाललको शुभकामना व्यक्त गरिएको थियो ।
संघका पुर्व अध्यक्ष तथा सांसद एलपी साँवा, संघका पुर्व अध्यक्ष पुष्पलाल महर्जन, संघका अध्यक्ष भुवन गुरुङ लगायतले समाजले गरेका कामको प्रसंसा गर्दै साधारणसभाको सफलताको कामना गरेका थिए ।
समाजका अध्यक्ष किसन प्रधानको सभापतित्वमा सम्पन्न साधारणसभाको सहजिकरण महासचिव देबेन्द्र नारायण श्रेष्ठले गरेका थिए ।










