सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका उद्यमीहरूलाई नगद राशीसहित पुरस्कृत गरेको छ ।

मन्त्रालयमा आज आयोजित ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ तथा ‘उद्यमी राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नगदसहित सम्मानित गरेका हुन ।

कार्यक्रममा झापाका रविन पोखरेल १ लाख ५० हजार राशि नगदसहित ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’बाट सम्मानित भएका थिए । यस्तै सातवटै प्रदेशबाट प्रतिनिधीत्व हुनेगरी ७५ हजार राशि नगदसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार’बाट उर्लाबारी मोरङका राजिव खड्का, बाराका शंकर सिम्खडा, दोलखाका कुमार श्रेष्ठ, तनहँुका बसन्त बहादुर खड्का, अर्घाखाँचीका शोभाकर पौडेल, सुर्खेतका लक्ष्मी प्रसाद ढकाल, बैतडिका तर्क सिंह विष्ट पुरस्कृत भएका हुन् ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमा नै रोजगारीका अवसरहरु सृजना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ । राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि ५६ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण र मुल्यांकन गरेर पुरस्कृत हुनेहरुको छनोट गरेको थियो ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्ने ८ उद्यमी सरकारद्धारा सम्मानित

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मानेको बताउदै सरकारले आन्तरिक रोजगारको प्रवर्धनका लागि काम गरिरहेको बताए ।

उनले भने, ‘नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मान्दै वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवद्र्धन गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर राखेका छौं ।’

उनले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकका रुपमा मनाउने निर्णय सरकारले गरेको पनि बताए । ‘हामीले आन्तरिक रोजगारीको निम्ति आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्धनको दशककोरुपमा मनाउने निर्णय गर्यौं र मन्त्रालयमा आन्तरिक रोजगार महाशाखाको व्यवस्था गर्यौं’, उनले भने ।