वैदेशिक रोजगार व्यवसायी संघले आफ्नै नाममा ल्यायो प्रशासनिक भवन
- रोजगारमञ्च
- माघ ३०, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/sangh-building-1.jpg)
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्थापनाको ३२ वर्षपछि आफ्नै नाममा प्रशासनिक भवन जोडेको छ । केही समय अघि काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल चौर नजिकै खरिद गरेर कार्यालय सारिएको उक्त भवन आधिकारिकरुपमा संघले आफ्नै नाममा सारेको छ ।
६ आना २ पैसा जग्गामा बनेको १९ वटा कोठा, ३२ फिट मोहोडा भएको साढे ३ तले कर्पोरेट भवन यही माघ २९ गते मालपोत कार्यालय चावहिलबाट संघको नाममा आएको छ ।
संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)ले संघको ३२बर्ष देखीको संगठित इतिहासमा खडकिरहेको आफ्नै प्रशासनिक भवन सम्पुर्ण व्यवसायीहरुको सहयोगमा किन्न सफल भएको बताए ।
‘संघको आफ्नै प्रशासनिक भवन किन्ने सपना साकार पार्न हौसला प्रदान गर्नुहुने संघका सल्लाहकार रघु पुरी लगायत सम्पुर्ण सल्लाहकारज्युहरु, भवन खरिद समितिका अग्रजहरु, संघ कार्यसमिति, संघका पुर्व अध्यक्षहरु, सम्पुर्ण सहयोगदाता व्यवसायीज्युहरुमा हृदय देखी नै हार्दिक नमन गर्दछौ’ खत्रीले भने ।
यस्तै संघका महासचिव मेघनाथ भूर्तेलले भवन खरिदका लागि हालसम्म ४ करोड १० लाख संकलन भएकोमा भवन पास गर्दासम्म ४ करोड ५३ लाख १४ हजार खर्च भएको जानकारी दिए । उनले अप’ग भएको ४३ लाख १४ हजार सापटी लिएर पास गरिएको बताए ।
महासचिव भूर्तेलले खरिद गरिएको भवन अगाडिको अर्को भवन समेत संघको कार्यालयका लागि लिने प्रक्रिया रहेकोले थप सहयोगका लागि व्यवसायीहरुलाई आग्रह गरेका छन । ‘सबै व्यवसायीहरुको साझा घर अझ फराकिलो बनाउने अभियानमा सम्पूर्ण व्यवसायीज्युहरुबाट थप सहयोगको अपेक्षा लिएका छौ र यसअघि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुको नामावली छिट्ट्रै प्रकाशन गर्नेछौ ।’ उनले भने ।
संघले स्थापनाकालदेखि नै आफ्नै भवन खरिद गर्ने सपना देखेतापनि विभिन्न समस्याका कारण खरिद गर्न नसकिरहेको अवस्थामा अहिले सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगले आफ्नै भवन खरिद गरेको हो ।
संघले खरिद गरेको भवनका लागि केही व्यवसायीहरुले प्रयाप्त पार्किङ र क्षेत्रफल नभएको भन्दै विरोध गर्दै आइरहेको बेला संघले सँगै रहेको थप भवन र जग्गा किन्ने प्रक्रिया पनि अघि बढाएपछि थप चर्चा सुरु भएको छ ।