प्रधानमन्त्रीको चिन भ्रमण : उच्चस्तरीय पहल हुन सके खुल्ने थियो हङकङ रोजगारी !

news-details

विश्वकै आकर्षक पारिश्रमिक र सेवासुविधा उपलब्ध हुने हङकङमा कोभिडपछि कामदारको चर्को अभाव छ । अहिले हङकङलाई विदेशी कामदारको अत्याधिक आवश्यकता छ । तर नेपालीका लागि हङकङ रोजगारी बन्द छ । सन् २००५ देखि हङकङले नेपालीलाई रोजगार भिसा दिन बन्द गरेकोमा यो अहिलेसम्म खुल्न सकेको छैन । पटक–पटक हङकङ रोजगार खुलाउने पहल हुँदा समेत यसले सार्थकता पाउन नसकेको अवस्थामा असोजको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा उच्चस्तरीय पहल गर्ने हो भने हङकङ रोजगारी खुल्न सक्ने संकेत देखिएको छ । प्रधानमन्त्रीको भ्रमण एजेण्डामा हङकङ तथा मकाउको रोजगार खुल्ला गर्ने विषय राख्न र यसको पहल गर्न सबैको आग्रह रहेको छ । खाडी तथा मलेसियामा मात्र केन्द्रित हाम्रो वैदेशिक रोजगारको गन्तव्य हङकङ तथा मकाउ जस्ता आकर्षक मुलुक खुल्ला गर्न सके धेरै फाइदा लिन सकिने थियो ।

हङकङ चीनको अधिनमा रहेको ब्यापारिक हव हो । हङकङ चीनको विशेष प्रशासनिक क्षेत्रका रूपमा पनि चिनिन्छ । हङकङ पर्ल नदी डेल्टा र दक्षिण चीन सागरको दक्षिणी कुनामा अवस्थित एक प्रदेश हो । गगनचुम्बी भवन र गहिरो प्राकृतिक बन्दरगाहको लागि हङकङ प्रसिद्ध छ । हङकङ संसारकै सबैभन्दा बढी जनघनत्व भएको महानगर मध्ये एक हो ।

हङकङ र नेपालको सम्बन्ध पुरानो हो । सन् २००५ भन्दा अगाडि हङकङले नेपालीहरुका लागि आगमन भिसा (अन एराइभल) तथा रोजगारीका लागि भिसा उपलब्ध गराउँदै आएको थियो । तर हङकङले सन् २००५ देखि नेपाली कामदारलाई रोजगारीका लागि भिसा दिन बन्द ग¥यो । ‘भिजिट भिसा’मा जाने नेपालीहरू ‘ओभर स्टे’ गर्ने र शरणार्थी भई बस्न थालेपछि हङकङ सरकारले नेपालीलाई अवसर नै दिन छाडेको बताइन्छ ।

हङकङमा रोजगारका लागि सेवा सुविधा तथा पारिश्रमिक निकै आकर्षक छ । तर नेपालीका लागि रोजगार खुलाउने पहल लामो समयदेखि भएता पनि अहिलेसम्म खुल्न सकेको छैन । पछिल्लो समय हङकङमा कामदारको माग उच्च छ । यस अवस्थामा हङकङ रोजगार खुलाउनका लागि चौतर्फि पहल भइरहेको छ । नेपालीको छवि इमान्दार र मिहिनेती मानिएकाले तथा कामदारको माग उच्च रहेको हुँदा हङकङ रोजगारी खुलाउन उच्चस्तरीय सरकारी पहल भइरहेको हङकङमा रहेको महाबाणिज्य दूतावासले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको भ्रमणमा हङकङ रोजगार सम्बन्धी छलफल हुनेछ
शरतसिंह भण्डारी, मन्त्री : श्रम, रोजगार तथा सामाजिक सुरक्षा


नेपाल सरकार अहिले रोजगारका आकर्षक र नयाँ गन्तब्यको खोजीमा रहेको छ । आकर्षक सेवासुविधा भएका देशको खोजी भइरहेको अवस्थामा लामो समयदेखि बन्द रहेको हङकङ तथा मकाउ रोजगार खुलाउनका लागि हाम्रो विशेष पहल रहन्छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा मुख्य एजेण्डा नभए पनि हङकङ रोजगार खुलाउने विषयमा छलफल हुनेछ । यस विषयमा हाम्रो मन्त्रालयले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएको छ । वैदेशिक रोजगारको विकल्प नहुञ्जेलसम्म उच्चस्तरीय पहल गरेर नयाँ र आकर्षक रोजगार गन्तब्यहरु खोज्न र सहजीकरण गर्न सरकार लाग्नेछ ।

इतिहास पल्टाएर हेर्दा ब्रिटिस आर्मीमा भर्ती हुन थालेपछि गोर्खालीको हिसाबले हङकङमा रेसिडेण्ट अनुमति पाएर नेपालीहरु बस्न थालेका थिए । हङकङ सरकारको पछिल्लो तथ्यांक अनुसार २५ हजारको हाराहारीमा नेपालीहरु त्यहाँ रहेका छन् । यद्यपी कतिपयले नेपाली पासपोर्ट त्यागिसकेको र गैरकानूनी बाटो भएर पुग्ने नेपालीहरुको संख्या पनि जोडदा हङकङमा ३० देखि ३५ हजारको हाराहारीमा नेपालीहरु रहेका महाबाणिज्य दूतावासको आंकलन छ ।

हङकङमा नेपालीहरु विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् । त्यसमा पनि गोर्खाली सुरक्षा गार्डका रुपमा नेपालीलाई त्यहाँ धेरै राम्रो मानिन्छ । हङकङका भिआइपीहरुले नेपाली सुरक्षा गार्डलाई नै खोज्ने गरेका छन् । यसका साथै हङकङका ठुला–ठुला गगनचुम्बी भवन निर्माणमा नेपालीको ठूलो योगदान छ । धेरै राम्रो पारिश्रमिक पाउने भएकाले नेपालीहरु निमार्ण क्षेत्रमा पनि काम गर्दछन् । ‘गगनचुम्बी भवन तथा विभिन्न टनेल बनाउने काममा धेरै नेपालीहरुले दक्षता हाँसिल गरेका छन्’ हङकङका लागि नेपाली महाबाणिज्यदूत उदयबहादुर रानामगर बताउँछन् ।

हङकङमा हस्पिटालिटी क्षेत्रमा पनि धेरै नेपाली कार्यरत छन् । नेपालीहरुले रेष्टुरेन्ट तथा क्लवहरु स्थापना गरेर नेपाली तथा विदेशीहरुलाई नै रोजगारी दिइरहेका छन् । हङकङमा व्यापारमा जमेका नेपालीको संख्या पनि अधिक छ । हङकङमा राम्रो गरी जमेका नेपालीहरुको एउटै माग छ– ‘अवसरको खानी हङकङमा नेपालीका लागि पनि रोजगारको ढोका खुल्ला गर्नुपर्छ ।’

नेपालीका लागि मुख्यतया खाडी तथा मलेसिया वैदेशिक रोजगारको गन्तब्य बनिरहँदा हङकङ रोजगारी खुलाउन सकेमा उच्च पारिश्रमिक तथा सेवा सुविधा पाउने अवसरबाट लाभान्वित हुने अवस्था सिर्जना हुने थियो । विश्वकै राम्रो पारिश्रमिक उपलब्ध हुने हङकङमा नेपालीहरुले अपेक्षाकृत लाभ लिन पाउने थिए ।

प्रधानमन्त्रीको चीन भ्रमण : हङकङ रोजगार मुख्य एजेण्डा बनाउन आग्रह

असोेज महिनाको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमणमा धेरै एजेण्डा भएता पनि हङकङ रोजगार खुलाउने मुख्य एजेण्डा बनाउन हङकङबासी नेपालीले आग्रह गरेका छन् । हङकङलाई चीनले नै हेर्ने हुँदा प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणमा यो एजेण्डा उठाउन सके फलदायी हुने अपेक्षा गरिएको छ ।

गैरआवासीय नेपाली संघ हङकङ तथा हङकङमा रहेका अधिकांश नेपाली संघसंस्थाहरुले विगत लामो समयदेखि हङकङ रोजगार खुलाउन पहल गरिरहेका भएपनि अव प्रधानमन्त्रीको चीन भ्रमणमा उच्चस्तरीय भेटवार्ता गरेर यो रोजगार खुलाउनु पर्ने उनीहरुको माग रहेको छ ।

हङकङ रोजगारी खुलाउने एजेण्डा बनाउन पहल
उदयबहादुर रानामगर, महाबाणिज्यदूत, हङकङ


हङकङले नेपालीहरुका लागि इम्प्लोइमेन्ट भिसा खुलाएको छैन । हामीले यस विषयमा निरन्तर लविङ गरिरहेका छौ । हङकङ मात्र होइन मकाउमा पनि रोजगार खुलाउन पहल भइरहेको छ । मकाउले नेपाली कामदार माग गर्दा पनि हाम्रो सरकारले रोकिरहेको अवस्था छ । त्यो खोल्न सकियो भने पनि हामीले डोमेस्टिक वर्करको लागि रोजगार दिलाउन सक्छौ । यता हङकङको हकमा पनि हामीले लबिङ गरिरहेका छौ । निकटमा नै हुन लागेको हाम्रो प्रधानमन्त्रीको चीन भ्रमणमा यो कुरा सम्बोधन गरिदिन अनुरोध गर्दै पत्राचार गरिसकेका छौं । सम्भवत त्यो एजेन्डा छलफलको विषय बन्न सक्छ भन्ने मलाई लागेको छ । आशा गरौ निकट भविष्यमा इम्प्लोइमेन्ट भिसा खुलाउन सक्यौ भने हङकङ रोजगारीको राम्रो हव बन्न सक्छ ।

हङकङमा कामदार सर्टेज भइरहेको बेलामा हामीले दवाव दिन सक्यौ भने त्यसको रिजल्ट सकारात्मक आउँछ भन्ने हाम्रो अनुमान छ । हामीले यो बेला अलि धक्का दिन सक्यौ भने सम्भवत रिजल्ट राम्रो आउँछ । नेपालको सम्बन्ध सुधार्नको लागि र यहाँको रोजगारीको भिसा खुलाउनको लागि सबैभन्दा पहिला हाम्रै बानी व्यवहारमा पनि केही सुधार गर्नुपर्छ । यहाँको नियमको सबैले पालना गर्नुपर्छ ।

प्रधानमन्त्रीको भ्रमणका अवसरमा हङकङ रोजगारी खुलाउने विषय एजेण्डामा पार्नका लागि चीनमा रहेको नेपाली दूतावासमा पत्राचार गरिएको हङकङका लागि नेपाली महाबाणिज्यदूत रानामगरको भनाई छ । सन् १९९७ मा हङकङमा स्थापना भएको महावाणिज्य दूतावासले निरन्तर हङकङ र नेपालबीचको व्यापारिक तथा कुटनैतिक सम्बन्ध विस्तारका साथै श्रम कुटनीतिमा पनि पहल गरिरहेको छ । रोजगारको भिसा खुलाउन सकेको खण्डमा हङकङ रोजगारीको सबैभन्दा आकर्षक हव बन्ने निश्चित छ ।

‘यतिखेर हङकङमा कामदारको सर्टेज छ, यस्तो अवस्थामा हामीले रोजगारी खुलाउन दवाव दिन सक्यौ भने त्यसको रिजल्ट सकारात्मक आउने पक्का छ’ महाबाणिज्यदूत रानामगर भन्छन् –‘प्रधानमन्त्रीको चीन भ्रमणमा हङकङ तथा मकाउ रोजगार खुलाउने एजेन्डा बन्यो भने मलाइ लाग्छ यसले मूर्तरुप पाउँछ, नेपालीले यहाँ राम्रो अवसर पाउनेछन् ।’

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हङकङ तथा मकाउ रोजगार खुलाउनका लागि सरकारले चासो राखेको बताएका छन् । उनले प्रधानमन्त्रीको चीन भ्रमणमा मुख्य एजेण्डामा नपरेको भएता पनि यस विषयमा कुरा उठाउने जानकारी दिएका छन् ।

मकाउ र हङकङसँग श्रम सम्झौताको माग

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको अवसरमा मकाउ र हङकङ रोजगारी खुलाउने विषयका साथै श्रम सम्झौताका लागि चिनियाँ पक्षसँग उच्चस्तरीय पहल गरेमा सकारात्मक नतिजा निस्कने अपेक्षा गरिएको छ । हङकङ र मकाउ चीनको विशेष प्रशासनिक क्षेत्रका रूपमा रहेका छन् ।

श्रम सम्झौताका लागि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालादेखि निरन्तर पहल भएपनि नतिजा अहिलेसम्म निस्कन सकेको छैन । एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल भन्छन् –‘यो पटक चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले यस विषयमा पहल गरिदिनुहुन्छ भन्नेमा हामी आशावादी छौं ।’

हङकङमा रोजगार खुलाउन धेरै पहल गरियो
टिका गुरुङ, महिला सचिव, एनआरएनए


हङकङ नेपालीहरुका लागि राम्रो मात्र होइन उत्कृष्ट गन्तब्य हो । नेपालीहरुले राम्रो काम र कमाइ गरेर बसिरहनुभएको छ । तर, नयाँ नेपालीहरु चै आउन पाइरहेका छैनन् । म एनआरएनए हङकङको अध्यक्ष हुँदा नै श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयमा हङकङ रोजगार खुलाउनु पर्छ भनेर ज्ञापनपत्र बुझाइसकेको थिएँ । घरेलु कामदारसँगै अन्य रोजगार भिसामा पनि नेपाली खुलाउनु पर्छ भनेर हामीले निकै पहल ग¥यौ । कोभिपछि सबै क्षेत्र खुल्ला भएपछि हङकङमा अहिले कामदारको अभाव भइरहेको छ । त्यसकारण वैदेशिक रोजगारको सुरक्षित गन्तव्य हङकङमा नेपालीलाई रोजगारीको अवसर खुलाउन अब ढिला गरिनु हुन्न । प्रधानमन्त्रीको चीन भ्रमणमा उच्चस्तरीय मिटिङ राखेर भिसा खुलाउने प्रकृयामा जोडतोडका साथ लाग्नुपर्छ भन्न चाहान्छु ।

चीन र मकाउले कतिपय निर्णय गर्दा चीनको अनुमति लिनुपर्ने भएकाले उच्चस्तरीय भ्रमणमा चिनियाँ पक्षसँग नै यस विषयमा कुरा उठाउन आवश्यक देखिएको हो । ‘विगतमा हामीले हङकङ र मकाउसँग मात्रै पहल गरेका थियौँ । चीनसँग पहल भएको थिएन । अब नतिजा निस्कने गरी जान कूटनीतिक पहल नै जरुरी छ’ हङकङमा कार्यरत एनआरएनए आइसीसी महिला सचिव टिका गुरुङ भन्छिन् –‘चीन सरकारले हङकङ र मकाउको बारेमा आवश्यक समन्वय गरेको खण्डमा कार्यान्वयनमा सहज हुनसक्छ ।’

यस्तै मकाउमा काम गर्ने नेपालीलाई स्वदेश फर्कनका लागि हङकङमा ट्रान्जिट भिसा लिनु पर्ने प्रावधान रहेको छ । यस्तो भिसा निकाल्न ४ हप्तासम्म लाग्ने हुँदा हङकङको अनअराइभल भिसा सहज बनाउने विषयमा पनि पहल गरिदिन मकाउमा कार्यरत नेपालीहरुको माग छ ।

हङकङ र मकाउ रोजगारी खुलाउने विषय तथा श्रम सम्झौताका लागि पहल भएको खण्डमा नेपालीको श्रम बजार विस्तार हुनुका साथै आम्दानी पनि राम्रो हुने थियो ।

नेपाली व्यवसायी नै हजारौंलाई रोजगारीे दिन सक्षम

हङकङमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरुले समेत कामदार अभावको समस्या झेलिरहनु परेको छ । अहिले हङकङमा धेरै प्रोजेक्टहरु धमाधम बनिरहेका छन् । उनीहरुलाई कामदारको ठूलो अभाव छ ।

कन्ट्रक्शन व्यवसाय संचालन गरिरहेका नेपाली व्यवसायीले हजारौंलाई रोजगार दिन सक्ने प्रतिवद्धता जनाएका छन् । हङकङ नेपाली व्यापार संघका अध्यक्ष प्रकाश पुनले रोजगारका लागि प्रसस्तै अवसरहरु रहेकाले १० हजारभन्दाबढिलाई नेपाली व्यवसायीले नै रोजगार प्रदान गर्न सक्ने बताए ।

व्यवसायी पुन भन्छन् –‘हामी नेपालीहरुले मात्रै निमार्ण क्षेत्रमा १० हजारभन्दा बढिलाई अझै रोजगारी दिन सक्छौ । अरु देशको भन्दा हाइली पेड रोजगारी यहाँ पाइन्छ । हामी आफै पनि धेरै पेड गर्न सक्छौ ।’

नेपालीलाई हङकङको रोजगारी गुम्न दिनुहुन्न
प्रकाश पुन, अध्यक्ष, हङकङ नेपाली व्यापार संघ


खासगरी गोर्खालीले बनाएको देश भनेर हङकङलाई चिनिन्छ । केही नेपालीहरु इलिगल तरिकाले आएको कारणले गर्दा हङकङ सरकारले नेपालीलाई रोक लगाएको धेरै भयो । हामीले पनि सरकारलाई यस विषयमा धेरै पटक भनिरहेका छौ तर नबुझेको हो कि नचाहेको हो । अझै पनि ढिला भएको छैन । प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा हङकङ तथा मकाउको रोजगारी खुलाउने विषय प्रमुखताका साथ राख्नुपर्छ । मैले यहाँको बाणिज्यदूत तथा चाइनाको दूतावासमा जानकारी गराइसकेको छु । श्रममन्त्रीको पनि ध्यानाकर्षण गराइरहेको छु । नेपाल सरकारले लिनुपर्ने जुन एक्सन छ, त्यो लिन जरुरी छ । यदि हामीबाट कुनै सल्लाह, सुझाव तथा सहयोग चाहिएमा हामी दिन सक्छौ । सरकारले जतिसक्दो चाँडो एक्सन लिनुपर्छ । फेरि अर्को देशका कामदार आएर यो सेवा सुविधा लिएमा नेपालीहरुका लागि धेरै अवसर गुम्न सक्छ ।

सिटी कन्ट्रक्शन संचालन गरिरहेका अर्का व्यवसायी डिके दाहाल हङकङमा रोजगारका धेरै अवसरहरु रहेको बताउँछन् । उनी भन्छन् –‘सरकारले पहल गरे नेपाली कामदारहरुको लागि ढोका खुल्ने धेरै सम्भावना छ । त्यसमा पनि नेपाली व्यवसायीहरुले मात्रै २० हजारभन्दा बढि कामदारलाई रोजगार दिने ग्यारेण्टी गर्न सक्छौ । अहिले हामी नेपाली व्यवसायीहरु यहाँ धेरै भइसकेका छौ ।’

हङकङमा कोभिड महामारीमा धेरै कडाई गरिएकोमा अहिले बिस्तारै यहाँका बजार खुल्ला हुन थालेको छ । अझ हङकङमा आन्दोलनका कारण धेरै मान्छे पलायन हुँदा अहिले श्रमिकको अभाव रहेको अवस्था छ । हङकङले फिलिपिन्सलगायतका मुलुकबाट कामदार आपूर्ति गरिरहँदा नेपालले पनि पहलकदमी लिएको खण्डमा रोजगारीका आकर्षक गन्तव्य बन्न सक्ने उनीहरुको भनाई छ ।

किन बन्द भयो हङकङ ?

सन् २००५ भन्दा पहिला नेपालीलाई हङकङमा अनअराइभल भिसा उपलब्ध थियो । तर, अहिले बन्द रहेको छ । २००५ देखि पटक पटक हङकङ रोजगारी खुलाउन सरकारी पहल भइरहँदा अहिलेसम्म खुल्न नसक्नुका आ–आफ्नै कारण देखाइएको छ । नेपालदेखि नजिकको दुरीमा रहेको हङकङमा नेपाल एयरलाइन्सको सीधा उडान पनि रहेको छ ।

अहिलेसम्म हङकङ रोजगारी नखुल्नुमा नेपालीनै कारक हुन सक्ने सबैको बुझाई छ । दुई बर्ष अगाडि हङकङमा पुगेर कार्यभार सम्हालेका महाबाणिज्यदूत उदयबहादुर रानामगरका अनुसार हङकङ सरकारले नेपालीलाई भिसा नदिनुको पछाडि नेपाली नै भएको बुझ्न सकिन्छ । उनी भन्छन् –‘हङकङ आएर नेपालीहरु शरणार्थी बन्न खोज्ने ट्रेन बढनु र अर्को जति पनि हङकङमा सेक्युरिटीको इष्युहरु निस्किन्छ त्यसमा नेपालीहरुनै बढी जोडिएको कारणले गर्दा नेपालीका लागि नखोलेको भन्ने छ । तर, यसबारे आधिकारिक सरकारी जवाफ भने केहि आएको छैन ।’

यता हङकङ व्यवसायी संघका अध्यक्ष पुन पनि महाबाणिज्यदूतको भनाईमा सहमत छन् । उनी भन्छन् –‘पहिला शरणार्थी बन्ने ट्रेन थियो, हामीलाई त्यही कारण भनिथ्यो तर अहिले केही सुरक्षाको कारण देखाइएको छ ।’ हङकङमा भएको आन्दोलनमा नेपालीहरुको संलग्नता देखिएको चीनका सरकारी पदाधिकारीले शंका गरेको पुनको भनाई छ ।

यद्यपी हङकङमा रहेका नेपालीहरुले इमान्दारिता र मिहनेतीको परिचय बनाएर सबैको मन जितेका छन् । नेपालले चीन तथा हङकङ सरकारलाई उच्चस्तरीय पहल गरेर कन्भिन्स गर्न सक्यो र नेपालीले पनि व्यवहार परिवर्तन गर्न सके सम्भवत नेपालीहरुका लागि रोजगारको ढोका खुल्ने देखिन्छ ।

उच्चस्तरीय तहबाट पहल गर्दा रोजगारी खुल्छ
द्रोणकुमार दाहाल (डिके), संचालक, सिटी कन्ट्रक्शन, हङकङ


रोजगार र कमाईको हिसाबले हङकङ विश्वकै टपमा पर्छ । हङकङ आइडिको हिसाबमा यहाँ रोजगार पाउने हो । हामी लेबरहरु बाहिरबाट ल्याउन पाउँदैनौ । यहीको जनतालाई रोजगार दिइसकेपछि उनीहरुलाई रोजगार पुगेन भने मात्रै सरकारले बाहिरबाट कामदार ल्याउन अनुमति दिन्छ । यहाँ सामान्य वर्करले पनि हङकङको ३० हजार डलर अर्थात नेपाली ५ लाख ४० हजार हाराहारीमा महिनाको सजिलै कमाउन सक्छन् । सरकारी तबरबाट उच्चस्तरीय पहल गर्ने हो भने यहाँ नेपालीले अवसर पाउन सक्नेछन् । हङकङले नेपाली कामदारलाई अति नै रुचाएको अवस्था छ । अहिले यहाँ कामदारको धेरै खाँचो छ । विशेषगरि अहिले चाइना हावी भइसकेको छ हङकङमा । चाइनाले जे भन्यो त्यही हुन्छ । नेपालको प्रधानमन्त्रीको निकट भविष्यमा हुने चाइनाको भ्रमणमा हङकङ रोजगार खुलाउने विषय राख्ने हो भने यो विषय सम्बोधन हुन सम्भव छ । यसबाट नेपालीले प्रशस्त अवसर पाउने थिए ।

अव रोजगार खुल्ने आशा

हङकङमा रहेका नेपाली अगुवाहरुले पटक–पटक रोजगार खुलाउन पहलकदमी गरिरहेका छन् । एनआरएनए हङकङले त सन् २००५ देखि २०२३ सम्म निरन्तर यस विषयमा पहल गरिरहेको बताएको छ ।

‘नेपालमा पुगेर हरेक मन्त्री तथा सचिवलाई ज्ञापनपत्र बुझाएका छौं तर अहिलेसम्म प्रतिफल आउन सकेको थिएन’ एनआरएनए सचिव टिका गुरुङ भन्छिन् –‘प्रधानमन्त्रीको चीन भ्रमणले आम नेपालीलाई खुशी तुल्याउने उपलब्धीमुलक रिजल्ट पक्कै ल्याउनेछ ।’

यता महाबाणिज्य दूतावासले पनि हङकङ रोजगार खुलाउनका लागि नेपाली दूतावास चीन, श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र परराष्ट्र मन्त्रालयमा लेखेर पठाइसकेको बताएको छ ।

यसर्थ प्रधानमन्त्रीको चीन भ्रमणमा हङकङ तथा मकाउ रोजगार खुलाउने विषय एजेन्डाको रुपमा अगाडि सार्न जरुरी छ । प्रधानमन्त्रीको चीन भ्रमणका अनेक एजेण्डा मध्ये रोजगार खुलाउने एजेण्डा छुटाउन हुँदैन । वैदेशिक रोजगारको शुद्धिकरणका लागि प्रधानमन्त्रीको विशेष चासो भइरहेको अवस्थामा आकर्षक रोजगार गन्तब्य खुलाउन सकेमा चीन भ्रमण निकै सार्थक हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *