७ महिनामा साढे चार लाखभन्दा बढी विदेशिए
- फाल्गुन १७, २०७९
- 0
सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९–८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् ।
विभागका अनुसार सो अवधिमा चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।
तीमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)मा जानेको हिस्सा ८० प्रतिशत छ भने बाँकी अन्य देशमा गएका छन् ।
विभागका महानिर्देशक उमाकान्त आचार्यले भने, “मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।”
पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घटेको छ ।