मानव बेचबिखनमा प्रविधिको दुरुपयोग

news-details

मानव बेचबिखनको जोखिममा रहेका व्यक्तिहरुलाई प्रलोभनमा पार्न विभिन्न नयाँ प्रविधिहरुको दुरुपयोग हुने गरेकोमा चासो बढेको छ ।

विभिन्न सरकारी निकाय, नागरिक समाज तथा मानव बेचबिखन प्रभावित प्रतिनिधिहरुले मानव बेचबिखनमा संलग्न व्यक्तिहरुले जाखिममा रहेका व्यक्तिहरुलाई प्रलोभनमा पार्न विभिन्न नयाँ प्रविधिहरुको दुरुपयोग गर्ने गरेको बताएका छन् ।

विनरक नेपालको हाम्रो सम्मान परियोजनाले मानव वेचविखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन् । प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास तथा नवीनताले मानिसको दैनिक जीवनलाई सहजमात्र होइन समस्या पनि पैदा गरेको उनीहरुको भनाई छ ।

यस वर्षको मानव बेचबिखनविरुद्धको नारा ‘प्रविधिको उपयोग र दुरुपयोग’ रहेको छ । कार्यक्रकका वक्ताहरुले प्रविधिले ल्याएको संभाव्यता र चुनौतीले मानव बेचबिखन वृद्धि र नियन्त्रण दुबै गर्नसक्नेमा जोड दिए ।

कोभिड–१९ महामारीको कारण केहीको तलबमा कटौती भयो भने धेरैको जागिर नै गुम्यो जसले गर्दा विशेष गरी सीमान्तकृत समुदायको मानव बेचबिखनको जोखिम झनै बढाएको सहभागीहरुको भनाई थियो । हाम्रो सम्मान परियोजनाकी कार्यवाहक प्रमुख सबिना प्रधानले भनिन्–‘ कोभिड–१९ महामारीपछि प्रविधिको प्रयोग झनै बढ्यो । मानव बेचबिखनमा संलग्नहरुले प्रविधिको बढ्दो प्रयोगको फाइदा उठाइरहेकाले हामीले हाम्रा प्रयासहरु त्यस्ता आपराधिक कार्यमा संलग्न र मानव बेचबिखनका घटनाहरु पत्ता लगाउनेतर्फ केन्द्रीकृत गर्न जरुरी छ ।’

नेपालका लागि बेलायती दूतावासका डा. करुणा वन्तले भने–‘प्रविधि दीर्घकालसम्म रहन्छ र यसबाट फाइदा लिनको लागि हामी चनाखो हुनुपर्छ । आप्रवासनसम्बन्धी सूचना र बुझेरमात्र निर्णय लिने प्रक्रियामा जनतालाई सुसूचित गराउन प्रविधिको नवीन पद्धतिको प्रयोग तथा अनलाइन निवेदन दिन, अपराधी पहिचान गर्न तथा सरकारलाई अझ बढी उत्तरदायी बनाउन प्रविधिको प्रयोग बढाउनुपर्छ ।’

प्रविधिलाई नियमन गर्ने अभिभारा राज्यको भए तापनि व्यक्ति आफू र अरुलाई बेचबिखनमा पर्न नदिन प्रविधिका खराब पक्षबारे जनता पनि जानकार हुनु जरुरी छ ।
मानव बेचबिखनविरुद्धको लडाइँमा नेपाल सरकारलाई सहयोग गर्नाका लागि हाम्रो सम्मान परियोजनाले मानव बेचबिखनसम्बन्धी एकीकृत तथ्याङ्क प्रणाली विकास गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको जनाएको छ ।

कोभिड–१९ को महामारी र अन्य अन्तर्राष्ट्रिय घटनाहरुले सीमान्तकृत समुदायको सङ्कटाभिमुखता बढाएको उल्लेख गर्दै यूएसएआईडी\नेपालकी मिसन निर्देशक सेपिडे किभ्यानशाडले भने, ‘आधुनिक प्रविधिको डिजिटल माध्यमले बढ्दो रुपमा कसरी मानव बेचबिखनमा प्रभाव पार्नसक्छ भन्ने कुराको महत्वलाई यूएसएआईडीले मान्यता दिएको र मानव बेचबिखनजस्तो विश्वव्यापी समस्या समाधान गर्नका लागि नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध छ ।’

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, उपसचिव भरत शर्मा,सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र तथा सञ्चार क्षेत्रका ९० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र संयुक्त अधिराज्यको यूकेएडको सहयोगमा सञ्चालित हाम्रो सम्मान परियोजनाले विशेष गरी वैदेशिक रोजगारी तथा मनोरञ्जन क्षेत्रमा हुने र संभाव्य मानव बेचबिखन नियन्त्रण गर्न नेपाल सरकारलाई सहयोग गरिरहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *