वैदेशिक रोजगारीमा ठगिएकालाई रु दुई करोड चार लाख क्षतिपूर्ति
- असार १४, २०७९
- 0

सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँद्वारा वैदेशिक रोजगारीमा क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।
वैदेशिक रोजगारमा गएका कामदार र उनीहरुका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ ।
०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन परियोजनाले मुख्य भूमिका खेल्दै आएको सामी परियोजनाकी संयोजक लुना रानाले जानकारी दिइन्।
यस आर्थिक वर्षमाआप्रवासी स्रोत केन्द्रमा ११४ जनाको वैदेशिक रोजगारीका क्रममा आएका समस्या दर्ता भएकामध्ये ३५ वटा समाधान हुँदा सहजीकरणमार्फत रु तीन करोड ८३ लाख ४६ हजार क्षतिपूर्ति दिलाउन सहजीकरण गरिएको उनले बताइन् ।
परियोजनाअन्तर्गत विदेश जानुपूर्व वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरुका बारेमा सही सूचना तथा जानकारी दिने, ठगीमा परेका कामदारहरुलाई निःशुल्क कानुनी परामर्श तथा सेवा गन्तव्य देशमा समस्या परेका कामदारहरुलाई आवश्यक सहयोग गर्दै आएको छ ।