भिजिट भिसाबाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएई सहमत

संयुक्त समितिको बैठक सम्पन्न, ५ क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया निःशुल्क गरिने
news-details

संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच भेटवार्ता भएको छ ।

संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रशंसा गरे । भेटवार्ताका क्रममा उनीहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ ।

रोजगारीको प्रलोभन देखाइ भिजिट भिसामा युएई ल्याउने गैरकानुनी एजेन्टहरुलाई कारवाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्नेछ । मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

साथै उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने बताए । उनीहरुबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमा, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि छलफल भएको थियो ।

लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुनस् श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले युएईमा रहेका घरेलु महिला श्रमिकहरु लाभान्वित हुने मन्त्री अवारले बताएका थिए ।

भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, संयुक्त अरव इमिरेट्स ९यूएई०का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुषाल थिए भने युएईका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्वन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी लगायत थिए। मन्त्री श्रेष्ठले आफ्ना समकक्षी अवारलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।

संयुक्त समितिको बैठक सम्पन्न, ५ क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया निःशुल्क गरिने

नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ।

आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा मंगलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको छ।

बैठकमा नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता युएईले गरेको छ ।

साथै युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनःएकीकरण योजनामा नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्ने प्रतिबद्धता पनि युएईले जनाएको छ।

युएईमा रहेका नेपालीहरूलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णत निःशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि युएई सहमत भएको छ ।

पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पुरा गरेर पुनः श्रम स्वीकृति दिने सरकारको निर्णयबारे युएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएको थियो।

साथै रोजगारीको प्रलोभनमा परी पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरूको समस्या समाधानबारे पनि बैठकमा छलफल भएको थियो । युएई जाने नेपाली श्रमिक लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिनियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका विषयमा पनि छलफल भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गरेका थिए । बैठकमा उपसचिव डा.थानेश्वर भुषाल र श्रम सहचारी निर्मला थापा थिए भने युएईका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ राशा सालेह थिए।

नेपाली श्रमिकको सुरक्षा र हितबारे मंगलवार नै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच छलफल भएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *