विमानस्थलबाट श्रम डेस्क हटाइयो, वैदेशिक रोजगारमा जानेले अब छुट्टै लाइन बस्नु नपर्ने

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ।

श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन्।

मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार विमानस्थल पुगेर श्रम डेस्क हटाएका हुन्। अनलाइन सूचना प्रणाली ९फेमिस० आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ।

वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुख दिएको गुनासो आएको थियो। विमानस्थलमा श्रमिकहरूको समस्यालाई समाधान गर्दै जाने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाएका थिए।

विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने भएका छन्।

श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन ३ वटै गेटबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले बताए।

मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण गर्ने जाँच प्रक्रिया पनि हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई पनि आग्रह गरेका छन्।

यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो। अब श्रमिकले श्रम डेस्क नगइ जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउनेछन्। विमानस्थलमा वैदेशिक रोजगार विभागले सूचना केन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ।

श्रम स्वीकृति सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको हो। अहिले अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएको मन्त्रालयको भनाइ छ। वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टिकर परीक्षणका लागि घन्टौं लाइन बस्नु पर्ने बाध्यता हटेको छ।

यसअघि वैदेशिक रोजगारमा जान विमानस्थल पुगेका दैनिक दुई हजार श्रमिकले लामो लाइन बसेर श्रम स्वीकृतीको छाप लगाउनु पर्ने नियमका कारण सास्ती बेहोर्दै आएका थिए। श्रम डेस्क हटाइएपछि उनीहरु पनि खुसी भएको मन्त्रालयको तर्क छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *