इजरायलमा नेपाली कामदार : आज ९९ जना उड्दै, दोस्रो चरणमा १६२ जना लगिने

news-details

रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बुधबार राति ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने जानकारी दिए ।

उनले यो पहिलो उडान रहेको बताए । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने उनले जानकारी दिए ।

‘पहिलो पटक १२५ जना नेपाली कामदारको उडानको तयारी गरेका थियौं ।,’ उनले भने, ‘तर २६ जना कामदारमा कोरोना पोजेटिभ देखिएका कारण सङ्ख्या घट्यो । अहिले १२५ मध्ये ९९ जना आज राति ११ बजे इजरायल उड्नुहुन्छ ।’

यसैगरी दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागका निर्देशक सुनुवारले जानकारी दिए ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको १७५ दिन अर्थात् २५ हप्तामा नेपाली कामदारलाई इजरायल उडाउने टुङ्गो लागेको उनले बताए ।

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जानकारी उनले दिए ।

नेपाल सरकार र इजरायल सरकारको सम्झौता अनुसार छनौट प्रक्रियाको सम्पूर्ण कार्य वैदेशिक रोजगार विभागको नेतृत्वमा सम्पन्न भएको उनले बताए ।

इजरायल जाने नेपाली कामदारको भिसा पाँच वर्षको हुने र उनीहरुले प्रत्येक वर्ष भिषा नवीकरण गर्नुपर्ने उनको भनाइ छ ।

इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ । इजरायल सुरक्षित गन्तव्यमध्ये एक हो र अर्को आकर्षक पारिश्रमिक पनि हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *