वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित, सहमतिको नेतृत्व चुन्ने प्रयास असफल

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा तथा नेतृत्व चयनको निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघले निर्वाचनसहितको साधारणसभा पौष ३० गते गर्ने घोषणा गरेको थियो ।

संघको इतिहाँसमा नै पहिलो पटक दुई वर्षे नेतृत्व छनोटका लागि सबै दल निकट व्यवसायी मिलेर सर्वसहमतिमा नेतृत्व चयन गर्ने टुंगोमा पुगेका थिए । तर, सहमति विपरित उम्मेदवारी परेपछि र कोभिड १९ को कारण देखाउँदै निर्वाचन समिति नै भंग गरेर संघले साधारणसभा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

संघमा नयाँ नेतृत्वका लागि सहमतिको वातावरण मिलाउन संघका कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुने गरी पद बाँडफाँडको निर्णय गरेपछि संघमा निर्वाचन नहुने भएको थियो तर सहमति विपरित अध्यक्ष, सचिव तथा सदस्यमा उम्मेदवारी परेपछि निर्वाचन रोकिएको संघका सचिव मेघनाथ भूर्तेलले जानकारी दिए ।

सहमतिअनुसार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य पाउने तय थियो । त्यसैगरी एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रथम उपाध्यक्ष, तीनजना सदस्य र एकजना सल्लाहकार तथा एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव, तीनजना सदस्य र एकजना सल्लाहकार पाउने सहमति भएको थियो ।

माओवादी निकटको नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले द्वितीय उपाध्यक्ष, तीन जना सदस्य, एक जना सल्लहकार तथा समाजवादी फोरम निकट संघले तृतीय उपाध्यक्ष, एक जना सदस्य र एक जना सल्लाहकार लिने गरी भागबण्डा गरिएको थियो ।

तर, निर्वाचन प्रक्रिया शुरु भएपछि माओवादी निकट मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भान्तनाले अध्यक्षमा उम्मेदवारी दिएपछि एकाएक माहोल फेरिएको थियो । अध्यक्ष पदमा एशोसिएशनका तर्फबाट संघका पूर्व द्वितिय उपाध्यक्ष भुवन सिंह गुरुङसहित भान्तनाको उम्मेद्वारी परेपछि बुधार बिहानसम्म सहमति खोज्ने प्रयास विफल भएपछि निर्वाचन प्रकृया नै संघले स्थगित गरेको संघका महासचिव सुजित श्रेष्ठले रोजगार मञ्चलाई बताए ।

अध्यक्षका उम्मेद्वार भान्तनाले उमेदवारी दर्ता भएपछि उम्मेद्वारबीच सहमति गर्नुपर्नेमा राजनीतिक दल निकट संस्थालाई भागबन्डा गरेर पद बाँडफाँड गर्दा संघमा राजनीतिमा सक्रिय चासो नहुने व्यवसायीको अपनत्व नहुने खतरा बढ्ने भन्दै भागबन्डा गर्नु अनुचित भएको दाबी गरिरहेका छन् । उनले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने अडान कसेपछि निर्वाचन रोकिएको हो ।

सहमतिका लागि एशोसिएशनका तर्फबाट अन्य पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिने घोषणा गरेपनि अन्तिम अवस्थामा आउँदा अध्यक्ष पदमा सहमति नभएपछि निर्वाचन रोकिएको महासचिव श्रेष्ठले जानकारी दिए ।

सचिवमा कांग्रेस निकट एसोसियनका आधिकारिक उम्मेदवार प्रज्ञान न्यौपानेविरुद्ध केशव न्यौपाने तथा नरेन्द्रप्रसाद ढकालविरुद्ध इन्दिरा गुरुङको उम्मेदवारी परेको थियो ।

संघले कोभिडका कारण निर्वाचन गर्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा जानकारीसहित निवेदन दर्ता गराइसकेको छ । ‘महामारीको यस्तो असहज अवस्थामा निर्वाचन गर्न सम्भव नहुने भएपछि अर्को सूचना नभएसम्मका लागि सधारणसभा स्थगित गरेका हौं,’ महासचिव श्रेष्ठ बताउँछन् ।

उम्मेदवारी दिने को को थिए ?

संघको अध्यक्षमा गुरुङ र भान्तनाको उम्मेदवारी परेको भएता पनि प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष र महासचिव पदमा भने निर्विरोध निर्वाचित भएका थिए । प्रथम उपाध्यक्षमा प्रगतिशील वैदेशिक रोजगार व्यवायी मञ्चका हरि बहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका प्रमेश्वर अधिकारी र महासचिवमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजाल निर्विरोध निर्वाचित हुने भएका थिए ।

यता संघको तृतीय उपाध्यक्षमा अख्तर हुसैन र संघका कार्यसमिति सदस्य कर्णराज कटुवालले उम्मेदवारी दर्ता गराएका थिए । सचिवमा एसोसिएसनका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने र केशवराज न्यौपानेको उम्मेदवारी परेको थियो । त्यसैगरी कोषाध्यक्षमा एसोसिएसनका वर्तमान अध्यक्ष नरेन्द्र प्रसाद ढकाल र संघकी वर्तमान कोषाध्यक्ष इन्दिरा गुरुङको उम्मेद्वारी दर्ता भएको थियो ।

कार्यसिमित सदस्यहरुमा एकीकृत संगठनका अनिल बोगटी र गणेश कुँवर, कामेश्वर साह (राहुल), गणतान्त्रिक मञ्चका केदारनाथ अधिकारी, चन्द्र बहादुर लिम्बु , प्रगतिशील मञ्चका तर्फबाट मिलन कट्टेल,सोम बहादुर तामाङको उम्मेद्वारी दर्ता भएको थियो । एसोसिएसनका तर्फबाट मोहम्द जुनैद, जंग बहादुर इजम, राजेन्द्र अधिकारी, हर्क बहादु लिम्बु, कैलाश पाठक, प्रेम राज लावती, प्रकाश बोहरा, नगेन्द्र प्रसाद पोखरेल (नबिन), बिक्रम श्रेष्ठ, लक्ष्मण पौडेल, बिजय कुमार कार्की, ऋषिराम कडेलको उम्मेद्वारी परेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *