सहमतिको नेतृत्व छान्दै वैदेशिक रोजगार व्यवसायी संघ, उम्मेदवारको टुंगो अझै लागेन

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्याकालका लागि सहमतिय नेतृत्व छनौट हुने भएको छ । पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुने गरी पद बाँडफाँड गर्ने सहमति भएपछि अव संघमा निर्वाचन नहुने भएको हो ।

संघको २९ औं साधारणसभा तथा निर्वाचन आगामी पौष ३० गते हुँदैछ । संघको इतिहाँसमा नै पहिलो पटक दुई वर्षे नेतृत्व छनोटका लागि सबै दल निकट व्यवसायी मिलेर सहमति जुटाएका हुन् ।

सहमतिको वातावरण मिलाउन संघका कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले लगातार तीन दिनको सक्रियतापछि पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुने गरी पद बाँडफाँडको निर्णय गरेपछि सहमतिको टुंगो लागेको हो ।

संघको नेतृत्व सर्वसम्मतबाट छनौट गर्नका लागि श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुुमार श्रेष्ठ(किसान)ले व्यवसायीलाई आग्रह गरेपछि अग्रज व्यवसायीहरुले समेत विशेष चासो राखेर सहमति भेट्याएका हुन् ।

कार्यदलको निर्णय अनुसार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई अध्यक्षसहित दुई पदाधिकारी र पाँच सदस्य पाएको छ । २१ सदस्यीय कार्यसमितिमा ७ वटा पद एशोसिएशनले पाउने भएको हो । एशोसिएशनले अघिल्लो कार्यकालका लागि क्लिन स्वीप गरेर सबै पदमा बिजयी हाँसिल गरेको थियो ।

त्यसैगरी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले प्रथम उपाध्यक्षसहित तीन सदस्य, वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चले द्वितीय उपाध्यक्ष र दुई सदस्य, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव र तीन सदस्य तथा समाजवादी वैदेशिक रोजगार व्यवसायी संघले तृतीय उपाध्यक्ष र एक सदस्य पाएका छन् ।

संघका कार्यवाहक अध्यक्ष तामाङ नेतृत्वको संयोजकत्वमा बसेको बैठकमा संघका पूर्व अध्यक्ष दिल प्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, तिलकबहादुर रानाभाट, बिमल ढकाल, निवर्तमान अध्यक्ष रोहन गुरूङ, एसोसिएसन अध्यक्ष नरेन्द्र प्रसाद ढकाल, पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने, किरण किशोर घिमिरे, प्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारी र पूर्व अध्यक्ष नरेश गेलाल, गणतन्त्रिक मञ्चका उपाध्यक्षद्वय धनलाल जैशी र परमेश्वर अधिकारी, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका बरिष्ठ उपाध्यक्ष वाईबि राई र समाजवादी वैदेशिक रोजगार व्यवसायी संघका प्रेम थापासहित वरिष्ठ व्यवसायी नवराज केसी, कार्यदलका कानूनी सल्लाहकार अधिवक्ता देवराज कटुवाल र सदस्य सचिव मेघनाथ भुर्तेल लयायतका व्यवसायी उपस्थित थिए ।

बैठकले ‘वैदेशिक रोजगार व्यवसायको वर्तमान विशिष्ट परिस्थितिलाई मध्यनजर राखी गरिएको सहमतिको निर्णयका विरूद्धमा हामी उपस्थित संस्थाका सदस्य रहेका व्यक्तिले उम्मेदवारी दिएमा वा मतदान गर्नुपर्ने अवस्था आएमा सम्बन्धित संस्थाले जिम्मेवारी लिई कारबाही गर्ने र गरिएको निर्णयलाई कठोरतपूर्वक कार्यान्वयन गर्ने’ निर्णय गरेकोे छ ।

कार्यदलका सदस्य सचिव मेघनाथ भुर्तेलले सहमति भएपनि कार्यवाहक अध्यक्ष तामाङ नेतृत्वको कार्यदल संघको निर्वाचन नभएसम्म कायमै रहने र सहमति विपरीत हुने गरी कसैले उम्मेद्वारी दिएमा त्यसको खण्डन र समाधान खोज्ने गरी क्रियाशील रहने जानकारी दिए ।

सहमतिको नेतृत्व कायम गर्ने निर्णय गरेर पूर्व अध्यक्ष र अग्रज व्यवसायीहरूले कोरोना भाइरस संक्रमणका कारण समस्यामा रहेका व्यवसायीहरूको आत्मबल बढाउन र व्यवसायी एकताको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको संघका कावा अध्यक्ष तामाङले बताए । उनले संघका लागि समय दिएर खट्न सक्ने, आफ्नो र आफ्नो संस्थाका लागि व्यक्तिगत लोभ नराख्ने व्यवसायीलाई सिफारिस गरी पठाउन पनि आग्रह गरे ।

उम्मेदवार टुंगो लगाउन सकस

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वमा पठाउने उम्मेदवारको टुंगो लगाउन सकस परेको छ । संघको नेतृत्वमा जान आकाक्षीहरु धेरै भएपछि प्रमुख दल निकट एशोसिएशन र मञ्चलाई सकस परेको हो ।

नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्च र संघीय समाजवादी निकट समाजवादी वैदेशिक रोजगार व्यवसायी संघले भने संघ कार्यसमितिको उमेदवार टुंगो लगाएका छन् ।
द्वितीय उपाध्यक्ष र दुई सदस्य पाएको गणतान्त्रिक मञ्चका तर्फबाट द्वितीय उपाध्यक्षमा परमेश्वर अधिकारी र सदस्यमा केदारनाथ अधिकारी‘दिपेन्द्र’को टुंगो लागेको छ भने अर्को सदस्यको टुंगो आइतबार लाग्ने बताइएको छ । तृतीय उपाध्यक्ष सहित कार्यसमितिमा एक सदस्य पाएको समाजवादी वैदेशिक रोजगार व्यवसायी संघले तृतीय उपाध्यक्षमा अख्तर हुसेन र सदस्यमा प्रेमराज लावतीलाई पठाउने निर्णय गरेको छ ।

त्यसैगरी एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले आफ्नो प्रतिनिधित्व महासचिव मधुकर रिजालको नेतृत्वमा पठाउने लगभग टुंगोमा पुगेको छ । उक्त संगठनले महासचिवसहित तीन सदस्य पाएको छ । उमेदवार छनौट गर्न गठित संगठनका अध्यक्ष सन्तकुमार लामा, सल्लाहकार कमल सापकोटा, तिला काप्री, गोपाल भण्डारी र नरेन्द्र राउत रहेको समितिले उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

प्रथम उपाध्यक्ष सहित तीन सदस्य पाएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले हरि पाण्डे क्षेत्रीको नेतृत्वमा उम्मेदवार पठाउने बताइएको छ । प्रथम उपाध्यक्षमा पाण्डे सदस्यमा व्यवसायीहरू मिलन कट्टेल, सोमबहादुर लामा, देउमान नेम्वाङ, डिबि कार्कीबाट छनोट गरिने बताइएको छ । कट्टेलको पक्कापक्की भए पनि नेम्वाङ र कार्कीका सम्वन्धमा व्यवसायीहरू पदमराज पौडेल, नरेश गेलाल, राजेन्द्र भण्डारी, टंक राउत र भिष्मराज शर्मा शिवाकोटी रहेको उम्मेदवार छनौट समितिले निर्णय गर्ने बताइएको छ ।

संघ कार्यसमितिमा अध्यक्ष, दुई पदाधिकारी र पाँच सदस्य पाएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले उम्मेदवार सिफारिस गरिसकेको छैन । एसोसिएसनमा संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्ल, महासचिव सुजित श्रेष्ठ र पूर्व द्वितीय उपाध्यक्ष भुवनसिं गुरूङले अध्यक्षमा दावी गरिरहेका छन् । एक साता यता दैनिक सहमति गराउने पहल भएपनि कोही पछि नहटेको बताइएको छ ।

काँग्रेस पार्टीका निर्वाचन प्रतिनिधि सुरेन्द्र पाण्डेसँग उम्मेदवार छनौटका लागि आइतबार बैठक बसिरहेको बताइएको छ । संघमा निर्वाचन भएको भए एसोसिएसनले पुरै प्यानल जित्ने अवस्थारहेको बेला कार्यसमितिमा आधाभन्दा कम सिटमा सहमति जनाएर आत्मसमर्पण गरेको भन्दै कतिपय व्यवसायीले आलोचना गरिरहेका छन् ।

सोमबार मनोनयन दर्ताको समय भएका कारणले आइतबार उम्मेदवार टुंगो लगाउनै पर्ने वाध्यता व्यवसायीहरुलाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *