वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामार्फत् नजान सरोकारवालाहरूको आग्रह
- रोजगारमञ्च
- पुस ३, २०७८
- 0
वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘भिजिट भिसाः समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।
पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको छ । यसकारण विभिन्न मुलुकमा पुगेर युवाहरू अलपत्र पर्ने गरेका छन् । त्यसैले यस क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका सरोकारवालाहरूले भिजिट भिसामा नजान आग्रह गरेको हो ।
प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको भन्दै यसरी जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट बञ्चित हुने बताए ।
भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा आइरहने उनको भनाइ छ । साथै, दुःख पाउँदा परिवारबाट पैसा मगाएर फर्किनुपर्ने बाध्यता रहेको उनले औंल्याए ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यक रहेको बताए । उनका अनुसार भिजिट भिसामा जाने मानिस भनेको घुम्न जाने भएकाले कामदारहरूले उक्त कार्य बुझ्नु पर्दछ ।
कामदारको मात्रै नभएर सरकारको कममजोरीले पनि भिजिट भिसामा जाने श्रमिक बढ्दो रहेको उनको भनाई छ । ‘नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेको छ । कामदारहरू छोटो समयमा वैदेशिक रोजगारीमा जान चाहन्छन्,’ उनले भने, ‘कामदारले छिटो र सहजता खोज्ने भएकाले भिजिट भिसामा जाने गरेको देखिन्छ ।’
श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतको दिनमा पनि रहेको बताए । भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धित सरोकारवालाहरु जानकार भए पनि कडाई गर्न नसकिएको उनको भनाइ छ । ‘यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमान्दार हुनपर्छ । साथै, समस्या समाधानका लागि डिप्लोमेटिक पहल आबश्यक छ,’ उनले भने ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले भिजिट भिसामा जाँदा व्यवसायीहरु पनि मारमा पर्ने र श्रमिकहरूले पनि समस्यामा पर्दा सरकारले प्रदान गर्ने कुनै पनि सेवा सुविधा नपाउने हुदा यसले झन समस्या निम्त्याउने बताए । ‘श्रम स्वीकृति लिएर गएका श्रमिकले मृत्यु वा अंगभंग भएमा ७ लाख र बिरामी भए स्वास्थ्य खर्चबापत राहत सुविधा पाउने व्यवस्था छ तर भिजिट भिसामा जानेहरु यी सबै सुविधाबाट बञ्चित हुन्छन’ उनले भने ।
भिजिट भिसामा धेरै समस्या आउने बताउदै उनले उक्त समस्या समाधानका लागि सरकार, व्यवसायीलगायत कामदारसमेत उत्तरदायी भएर सचेत हुनुपर्ने बताए । साथै, भिजिट भिसाका नाममा मोटो रकम उठाउने कार्य बन्द गर्नुपर्ने उनको भनाइ छ ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिषामा जाँदै नजान आग्रह गरे । ‘अहिले नेपालीहरुको संस्कृति नै जस्तो भइसकेको छ भिजिट भिसामा जाने, तर उहाँहरुको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो । यसरी जाँदा उहाँहरुले दुःख पाउनु भएको छ ,’ उनले भने ।
सरकारले म्यानपावर कम्पनीहरुका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाले बताए । सरकारले कार्यविधि नै बनाएर भिजिट भिसामा कडाई गर्नुपर्ने उनले उल्लेख गरे ।
वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा पठाउन केहि मेनपावरकै व्यक्तिको पनि संलग्नता हुनसक्ने इंकित गर्दै यसमा एनआरएन, आफन्त र सरकारी कर्मचारीको समेत मिलेमतो रहने गरेको बताए । भिजिट भिसामा दक्ष र शिक्षित युवाहरु नै गइरहेको बताउदै कार्यवाहक अध्यक्ष तामाङले सरकारको लाचारिपन र विदेशमा रहेका व्यक्तिहरुमार्फत भिजिट भिसा मौलाउँदै गएको जिकीर गरे ।
‘एउटा म्यानपावरको व्यक्तिले सेटिङ गरेर पठाउछ भने यो निजी क्षेत्रको दलाली हो । तर भिजिट भिसामा गइरहदा अध्यागमन विभागले किन छानविन गर्न सकिरहेको छैन ?,’ प्रतिप्रश्न गर्दै तामाङ भन्छन –‘सरकार सुध्रिने हो भने आजैबाट सबै समस्या सल्टिन्छ, सरकारको कर्मचारी संलग्न हुने हो भने यो समस्या सधै रहिरहन्छ ।’
आइएनजिओ र एनजिओहरुले पनि पाँचतारे होटलमा कार्यक्रम गर्ने गरेको तर समस्या सुल्झाउन कुनै पहल नगरेको भन्दै उनले दुःख व्यक्त गरे ।
ट्राभल एजेन्सी र कन्सल्टेन्सीहरुले भिजिट भिसामा युवा ओसारिरहेको भए पनि यसको सबै दोष म्यानपावर व्यवसायीमाथि थुपारिएको भन्दै उनले दुःख व्यक्त गरे । यस्तो समस्या आउन नदिन वैदेशिक रोजगारमा जाने व्यक्तिहरु सचेत हुनुपर्ने उनले बताए । पछिल्लो समय युरोपियन मुलुकहरुमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको तामाङले औँल्याए ।
मानव वेचविखन अनुसन्धान व्यूरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले वैदेशिक रोजगारमा जाँदा अप्ठ्यारोमा परेकाहरु अधिकांश व्यक्ति उजुरी गर्न प्रहरीसम्म नपुग्ने हुदा यो समस्या झन बढेको बताउछन ।
संस्थागत प्रक्रियाबाट गएकाहरु खासै समस्यामा नपरेका तर व्यक्तिमार्फत गएका व्यक्तिहरु बेचबिखनमा पर्ने गरेका उजुरीहरु धेरै आउने गरेको अनुसन्धान अधिकृत भट्टले बताए । अर्कोतिर भिजिट भिसामा जानेहरुले उजुरी दिने गरेपनि उजुरीको काम नसकिई फेरि सोही प्रकृयामार्फत विदेश पुगिसक्ने गरेको उनको भनाई छ । जनचेतनाको अभावका कारण पनि युवाहरुले भिजिट भिसाको दुरुपयोग गरिरहेको उनको जिकिर छ ।