इजरायलका लागि स्वास्थ्य परीक्षण गर्ने ४ वटा संस्था छनौटमा श्रम मन्त्री नै असन्तुष्ट

आर्थिक चलखेलको आशंका, प्रति व्यक्ति ८ हजार ९ सय रुपैया
news-details

सरकारी माध्यमबाट इजरायल जानका लागि छनौट भएका कामदारको स्वास्थ्य परीक्षणका लागि वैदेशिक रोजगार विभागले ४ वटा नीजि अस्पताल छनौट गरेकोमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसनकुमार श्रेष्ठले नै असन्तुष्टी जनाएका छन् ।

वैदेशिक रोजगार विभागले आइतबार सूचना प्रकाशित गर्दै इजरायल जानका लागि छनौट भएका मध्ये ५ सय जनालाई स्टार अस्पताल, सानेपा, ह्याम्स अस्पताल, मण्डिखाटार, नेपाल मेडिसिटी, भैसेपाटी र मनमोहन मेमोरियल मेडिकल कलेज, स्यम्भूमा स्वास्थ्य परीक्षण गर्नका लागि अनुरोध गरेको छ । यी ४ वटा अस्पतालमा कार्तिक २९ गतेदेखि मंशिर ५ गतेसम्म स्वास्थ्य परीक्षण गर्न भनिएको छ ।

विभागका महानिर्देशक दिपक काफ्लेको हस्ताक्षरसहित प्रकाशित सूचनामा मन्त्री श्रेष्ठले केही नीजि अस्पताल मात्र सूचिकृत भएकोमा असतुष्टी जनाउँदै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति लिएका तथा इजरायलको मापदण्ड पुरा गरेका सबै स्वास्थ्य संस्थाले परीक्षण गर्न पाउनु पर्ने अडानमा आफु रहेको बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा २ सयभन्दा बढि स्वास्थ्य संस्था वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि अनुमति लिई नविकरण गरेका छन् ।

मन्त्री श्रेष्ठले भने–‘ मापदण्ड पुरा गरेका सबै स्वास्थ्य संस्थाले काम गर्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो, तर मन्त्रालयमा म आउनुभन्दा पहिला नै इजरायलसँग सम्झौता गरेर केही संस्था मात्र तोक्नुमा मेरो कुनै सहमति रहेको छैन’ । ‘ नत्र सवै सरकारी अस्पताल तोकेको भए कुनै आपत्ती हुने थिएन’ मन्त्री श्रेष्ठको भनाई छ ।

यता वैदेशिक रोजगार विभागले इजरायल दूतावास र परराष्ट्र मन्त्रालयको पत्र अनुसार ४ वटा स्वास्थ्य संस्था छनौट गरेको बताउँदै आएको छ । मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधेका छन् । महानिर्देशक काफ्लेले इजरायलसँगको सम्झौता अनुसार नै छनौट गरिएको बताएका छन् ।

मन्त्री श्रेष्ठले नेपालका लागि इजरायली राजदूतलाई छलफलका लागि बोलाउने र इजरायल रोजगारी प्रभावित बन्न नदिने तर सबैले काम गर्न पाउनु पर्ने विषयमा आगामी दिनमा अगाडि बढ्ने बताएका छन् ।

स्वास्थ्य परीक्षणका लागि केही सीमित नीजि अस्पताल छनौटमा आर्थिक चलखेल हुन सक्ने अनुमान अन्य स्वास्थ्य संस्थाहरुको रहेको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले काम गर्न पाउनु पर्ने बताउँछन् ।

अध्यक्ष खड्का भन्छन्–‘इजरायलको मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले काम गर्न पाउनु पर्छ, सरकार आफैले सीमित अस्पताललाई तोक्नु सबै स्वास्थ्य संस्थाप्रतिको अपमान हो ।’

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको शुल्क सरकारले देश अनुसार तोकेको छ । सबै भन्दा बढि साउदी अरव जानका लागि ५५ सय रुपैया शुल्क रहेको छ भने मलेसिया, यूएई, कतार जानका लागि अधिक्तम ४५ सय रुपैया तोकिएको छ ।

सानेमामा रहेको स्टार अस्पताल सम्पर्क व्यक्ति हरि ढकालका अनुसार इजरायल जानका लागि प्रतिव्यक्ति ८ हजार ९ सय रुपैया शुल्क लाग्ने छ । उनले रोजगार मञ्चलाई भने–‘ सरकारले नै तोकेको शुल्क हामीले लिने हो, धेरै प्रकारको परीक्षण गर्नुपर्ने भएकाले शुल्क बढि लागेको हो ।’

वैदेशिक रोजगार विभागले इजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा साहायक कामदार (केयर गिभर) का लागि २०७८ असोज १० गते १६ सय जना छनौट गरेकोमा असोज २५ गते ‘लक्की ड्र’ मार्फत ११ सय ७५ कामदार छनौट गरेको छ । ‘लक्की ड्र’ मा नपरेका ४ सय २५ जना कामदार पनि इजरायल जान पाउनु पर्ने दाबाब सरकारलाई दिदै आएका छन् ।

विभागको छनौटमा परेका मध्ये पहिलो चरणमा ५ सय जनालाई ( ३ सय ५० महिला र १ सय ५० पुरुष) स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाण पत्र बुझाउनका लागि आह्वान गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *