इजरायल रोजगारी : १ हजार मागमा नौ गुणा बढी आवेदन

news-details

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।

७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका लागि दक्ष श्रमिकको माग भएकोमा चार हजार दुई सय महिला र पाँच हजार ४९९ जना पुरुषको आवेदन परेको छ ।

वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ ।

विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए । विभागले भदौ १५ देखि २२ गतेसम्म स्वीकृत भएका आवेदनका लागि परीक्षा तय हुने जनाएको छ । सबै आवेदनलाई म्यानुयल रूपमा हेर्नुपर्ने भएकाले लिखित परीक्षाको मिति भने तय गरिएको छैन ।

इजरायलका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० अंकभन्दा बढी ल्याउने पास हुने भए पनि म्यारिटबेसमा छनोटमा परेकालाई अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ ।

आवेदन स्वीकृति भएमा वा अस्वीकृति भएमा यसको जानकारी विभागले आवेदन दिँदा व्यक्तिले अनलाइन सिस्टममा राखेको फोन नम्बर र इमेलमार्फत परीक्षा केन्द्र तोक्ने, परीक्षा समय र मितिबारे निर्णय भएपछि आवेदकलाई जानकारी गराइने विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *